सुन्दरहरैँचा (मोरङ), ५ माघ–रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले गाउँका लागि एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले उपलब्ध गराएको २५ लाख ५० हजार रुपैयाँबाट एम्बुलेन्स खरिद गरिएको हो।

एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरबहादुर मोक्तानले जानकारी दिए। विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने उनले बताए।

एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले पाँच लाख ३० हजार रुपैयाँ उपलब्ध गराएका थिए। उनीसहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा रकम संकलन भएको हो ।

सहयोगी दातामध्येका अगुवाइकर्ता याम सेम्बुले गाउँको समस्या आत्मसात गर्दै एम्बुलेन्स सहयोग गरेको उनको भनाइ छ। अर्का सहयोगी साङ्गेहाङ तुम्बाहाम्फेले भने, ‘हामीले एम्बुलेन्स सहयोग गर्दा विपन्न परिवारलाई सहज होस् भन्ने उद्देश्य हो।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *