काठमाडौं, ७ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै समाजवादको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्मानित नेता खनालले उक्त कुरा बताउनु भएको हो। सोमबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नु भएको छ,‘आज फागुन ७, प्रजातन्त्र दिवसको दिन। यो ऐतिहासिक दिन, नेपालको इतिहासमा निरंकुश तानाशाही राणा शासनका विरुद्ध लोकतन्त्रको आवाज घन्काउदै प्रजातन्त्र थालनी भएको महत्वपूर्ण दिन हो।
यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
२००७ सालको क्रान्ति सम्पन्न भए पश्चात नेपाल क्रमशस् जनअधिकार र लोकतन्त्रको युग तिर प्रवेश गर्यो। त्यसपछि लगातार प्रजातन्त्र माथि धेरै प्रकारका चुनौतीहरु पनि आइलागे। ती तमाम चुनौतीहरुका बाबजुद हामीले २०४६ सालमा जनआन्दोलन मार्फत अर्को परिर्वतन गर्यौ। त्यसपछि फेरि २०६२/०६३ मा जनवादी क्रान्ति सम्पन्न गर्यौ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसैको परिणाम स्वरुप हामीले संविधान सभाको निर्वाचन मार्फत नेपालमा नयाँ संविधान निर्माण गर्यौँ र अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत समेत गरेका छौँ। यसरी विभिन्न समयका घटनाक्रमको मुल्याङ्कन गरेर हेर्दा नेपालमा पुँजीवादी लोकतान्त्रिक परिवर्तनको शुरुवात २००७ सालको क्रान्तिबाट नै भएको हो भन्न सकिन्छ।
तसर्थ, आजसम्मको हाम्रा यी प्राप्त उपलब्धिहरुलाई रक्षा गर्न, यसको विकास गर्न, अझ समृद्ध र सुदृढ बनाउन हामी सबैले समाजवादका दिशामा अघि बढ्न जरुरी छ। अन्त्यमा, प्रजातन्त्र दिवसको अवसरमा म फेरि सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।’

