धनगढी, १० भदौं–धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी तीन दिनदेखि निसर्ग अस्पतालको आइसीयुमा उपचाररत थिए। मंगलवार उनलाई कोरोना पुष्टि भएपछि निसर्ग अस्पतालबाट सेती प्रादेशिक अस्पतालमा सारिएको र भेन्टिलेटरमा राखिएको थियो।
सेती मंगलबार राति नै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले बताए। शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकेको उनले जानकारी दिए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ। हिजो मात्रै साउन ३२ गते मृत्यु भएका कैलालीकै पुरुषमा पनि कोरोना पुष्टि भएको थियो। अस्पतालमा उपचार गराएका संक्रमितको मृत्यु भएपछि निसर्ग अस्पतालले आईसियु सेवा बन्द गरेको छ।
आइसीयुमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीलाई आज राति देखि नै क्वारेन्टाईनमा राखिएको अस्पतालका अध्यक्ष तीर्थ पन्तले जानकारी दिए। आईसियु वार्डमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरुको आजै पीसीआर परीक्षण गर्ने बताइएको छ।
