विराटनगर, १० भदौं–विराटनगरको न्यूरो अस्पतालमा महोत्तरीका एक जना कोरोना संक्रमितको निधन भएको छ। साउन ३१ गते अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ११ बजेतिर मृत्यु भएको हो।
अस्पतालका कोभिड १९ व्यवस्थापन समिति संयोजक रन्जितराज बस्नेतका अनुसार टाउकोको नशा सुकेर प्यारालाईसिसको समस्या भएका पुरुष न्यूरोको भेन्टिलेटरमा उपचाररतः रहेकै बखत भदौ ३ गते स्वाब संकलन गरिएको थियो। क्रिटिकल बिरामीमा केहि लक्षण जस्तो देखियो, संयोजक बस्नेतले भने ‘त्यसपछि स्वाब संकलन गरेका थियौं, भदौ ७ गते रिपोर्ट आउँदा पोजेटिभ देखियो।’
बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि न्यूरोको आईसोलेशन विभागमा भेन्टिलेटरको सुविधासहित सारिएको उनको भनाइ छ। उनको मृत्युपछि शव व्यवस्थापनका लागि न्यूरो अस्पताल व्यवस्थापनले जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकालाई जानकारी गराई सकेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले महोत्तरी जिल्ला प्रशासनसँग परामर्श गरेर शव व्यवस्थापनको प्रक्रिया बढाउने जानकारी दिइएको बस्नेतले बताए। अस्पतालमा संक्रमितको मृत्युपछि उनको शव भने बेलुकै शिल प्याक गरेर राखिएको छ।
