एजेन्सी (काठमाडौं), १० भदौं–ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पाँच महिना हिरासतमा बसेपछि रिहा भएका छन् । रोनाल्डिन्हो र उनका भाइ रोबर्टो डी आसिसलाई यसै वर्ष मार्चमा नक्कली राहदानी राखेको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो । रोनाल्डिन्होसँगै उनका भाइलाई पनि रिहा गरिदिएको छ ।

पक्राउ परेपनि रोनाल्डिन्हो र उनका बिजनेस म्यानेजर समेत रहेका भाइले एक महिनामात्र जेलमा बिताए । बाँकी चार महिना उनीहरुलाई पाराग्वेको राजधानी असुनसियानको लक्जरी होटलमा गृहबन्दीका रुपमा राखिएको थियो । उनीहरुलाई दुई लाख अमेरिकी डलर जरिवाना पनि सुनाइएको छ । रोनाल्डिन्होले अब जुनसुकै देशको यात्रा गर्न सक्नेछन् । उनीमाथि जरिवाना बाहेक कुनै प्रतिबन्ध लगाइएको छैन ।

रोनाल्डिन्हो मार्चमा बालबालिकाको एउटा च्यारिटीमा सहभागी हुन आफ्ना भाइसँग पाराग्वेको राजधानी पुगेका थिए । उनी जुन होटलमा बसेका थिए, प्रहरीले त्यहीँ हिरासतमा लिएको थियो। दुवैमाथि झुटो पासपोर्टको सहारामा पाराग्वे प्रवेश गरेको आरोप लागेको थियो । पक्राउ परेका कारण रोनाल्डिन्होले आफ्नो ४० औं जन्मदिन पनि बन्दी बनेरै बिताउनुपरेको थियो।​

अभियोजनकर्ताहरुले झूटो पासपोर्ट प्राप्त गर्न फुटबलरको कुनै भूमिका नरहने भए पनि उनका भाइलाई आफूहरु नक्कली पासपोर्टको सहायतामा पाराग्वे प्रवेश गर्दैछौं भन्‍ने थाहा थियो भनेका छन् । रोनाल्डिन्होले आफ्नो फुटबल करियरमा पेरिस सेन्ट जर्मेन (पीएसजी), बार्सिलोना र एसी मिलान जस्ता क्लबबाट खेलेका छन्।

सन् २००२ मा ब्राजिललाई पाँचौ विश्वकप जिताउन सहयोग गरेका उनले सन् २०१८ मा फुटबलबाट सन्यास लिएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *