झापा, १० भदौं–नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ पुरुष र दुई जना महिलाको मृत्यु भएको हो।
बाराका ४१ र ४६ वर्षीय पुरुष गरी दुईजना, कैलालीका ४५ र ५० वर्षीय पुरुष गरी दुई जना, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष गरी तीन जना, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष, मोरङकी ४६ वर्षीया महिला र भक्तपुरका ५३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ। मन्त्रालयका अनुसार बुधबार ३ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण गरिएको छ। संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३९ जना रहेको छ।
