दमक, १० भदौ–दमकमा आज १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यसअघि संक्रमण देखिएको लघु वित्तका कर्मचारी, नेपाल टेलिकमका कर्मचारी र औषधि व्यवसायीको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गरी २ सय ९ जनाको स्वाब संकलन गरिएको थियो ।
संक्रमितहरु मध्ये आज १४ जना र एक जना होम क्वारेन्टाईनमा बस्दै आएका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
आज संक्रमण देखिएकामा २२ देखि ७२ बर्ष सम्मका ६ जना महिला र ९ जना पुरुषहरु रहेका छन् । संक्रमण देखिएकामा दमक वडा नम्बर १ का १ जना, वडा नम्बर ४ का होम क्वारेन्टाईनमा बसेका १ जना र कन्ट्याक ट्रेसिङका १ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर ६ का ५ जना, वडा नम्बर ९ का ६ जना रहेका छन् ।
संक्रमितहरु कसैमा पनि कोरोनाका लक्षण भने नदेखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाईएको छ । यो संगै दमकमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।
दमकमा समुदाय स्तरमा संक्रमण तीव्र फैलिदै गएपछि नगरपालिकाले गत साउन ३२ गतेदेखि भदौ १३ गतेसम्म नगरभित्र निशेधज्ञा गरेको छ । निसेधज्ञामा संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गरिने जनाईएको छ ।
