काठमाडौं, १० भदौं–राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जम्मा सम्पत्ति ५४ अर्ब १७ करोड रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै निगमको सम्पत्तिबारे पनि उल्लेख गरेको हो। अर्कातिर नेपाल एयरलाइन्सको कुल अण नै ४५ अर्ब ९४ करोड रहेको छ। निगमको खुद सम्पत्ति ८ अर्ब २३ करोड रहेको पर्यटन मन्त्रालयले जनाएको छ।

चिनियाँ जहाज थन्किए

मन्त्रालयले उडान विस्तार गरेर निगमलाई उकास्ने योजनाका साथ चीनबाट ल्याइएका जहाज नेपाली आकाशका लागि अनुपयुक्त भएपछि ग्राउन्डेड गरिएको जनाएको छ। पर्यटनमन्त्री योगेश भट्टराईले यसबारेमा जानकारी दिएका हुन्।

अनुदानमा प्राप्त र निगमले किनेका जहाजहरूको सम्पूर्ण पक्ष विश्लेषण गर्दा ती चिनियाँ जहाज नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएको उनले बताउ। ‘निगमले विभिन्‍न कमिटी बनाएर विमानहरूको विषयमा अध्ययन गर्दा नेपाली आकाशमा उडाउन उपयुक्त नभएको निष्कर्ष निकालिएको छ’, उनले भने, ‘त्यसको उपयुक्त विकल्प के हुन सक्छ भनेर अर्थ मन्त्रालयसँग राय मागिएको छ। चीनसँगको कुटनीतिक सम्बन्ध र नेपालले तिर्नुपर्ने बाँकी रकमलाई मध्यनजर गर्दै अर्थको राय आएपछि निर्णय हुन्छ।’

निगमले बितेको एक वर्षमा जापानको नारितामा सिधा उडान सुरु गरेको कुरालाई पनि मन्त्रालयले प्रगतिका रुपमा लिएको छ। दुई ठूला जहाज आइसकेकाले निगमले अब लामो गन्तव्यमा जाने रणनीति बनाएको छ। मन्त्रालयका अनुसार कोरोना संकट टरेपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान भर्ने भएको छ।

मन्त्री भट्टराईले कोभिड-१९ को पिसिआर परीक्षण अनिवार्य भएका देशमा भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान तयारी गरिएको बताए। उनले पिसिआर परीक्षण अनिवार्य नभएका देशमा चार्टर्ड उडान गर्ने बताए। मन्त्रालयले दशैं तिहार नजिकिएसँगै कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लामा पनि आन्तरिक उडान भर्ने तयारी थालेको मन्त्री भट्टराईले बताएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *