काठमाडौं, १० भदौ–स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा भइरहेको कामका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीसहित मन्त्री ढकालले भर्चुअल माध्यमबाट स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका हुन्।

छलफलमा मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड-१९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राखे। मन्त्री ढकालले कोभिड-१९ नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए। कोरोनाविरूद्ध पहिलो भागमा खटिरहेका चिकित्सक, नर्स, स्वास्थयकर्मी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिँदै उनीहरूको हौसला बढाउनुपर्ने बताए।

छलफलमा सहभागी डा. महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताए। उनले कोरोना संक्रमण नियन्त्रणबाहिर नगएको भन्दै संक्रमितिको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दो क्रममा रहेको दाबी गरे। उनले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको भन्दै सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताए।

प्रा.डा.जीवन शेरचनले मास्क ठूलो मात्रामा उत्पादन गरेर जनतामा वितरण गर्नुपर्ने बताए। उनले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियामा समेत नरहेको भन्दै उनीहरू पनि घरबाहिर निस्कनुपर्ने र काममा जानुपर्ने अवस्था रहेकोले मास्क सरकारले निस्शुल्क वितरणको व्यवस्था मिलाउनुपर्ने बताए। उनले नमूना परीक्षको नतिजा अझै छिटो र व्यवस्थित रूपमा दिनुपर्ने बताए।

छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्षसमेत रहेका प्रा.डा.भगवना कोइरालालले दसैं लगायतका महत्वपूर्ण चाड नजिकै आइसकेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकहरूलाई सहजीकरण गर्नुपर्ने बताए। उनले अस्पताल संक्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिए।

छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलि बढी ध्यान दिनुपर्ने बताए। टेकु अस्पतालका अस्पताल डा.अनुप बाँस्तोलाले भेन्टिलेटरमा जाने भन्दा पनि अक्सिजन थेरापीलाई महत्वका साथ अघि बढाउनुपर्ने बताए। उनले अक्सिजन थेरापी भेन्टिलेटरभन्दा राम्रो र प्रभावकारी रहेको बताए।

छलफलमा स्वास्थ्य मन्त्रालयकाका तर्फबाट सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा.खेमबहादुर कार्की, सहसचिव डा.गुणराज लोहनी, प्रवक्ता प्रा.डा.जागेश्वर गौतम, डा.गुणनीधि शर्मा लगायत सहभागी थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *