बिर्तामोड,११ भदौ–झापा गाउँपालिका–३ कामाटोलीमा गोरु काट्नेलाई प्रहरीले रिहा गरेपछि स्थिति सामान्य बनेको छ । गोरु काट्नेलाई पक्राउ गरेपछि स्थिति हिजो साँझ असामान्य बनेको थियो । प्रहरीले झापा गाउँपालिका ३ का अब्दुल सलाम र ताजमल हकलाई नियन्त्रणमा लिएको थियो ।

गाउँपालिका अध्यक्ष जयनारायण शाह र उपाध्यक्ष कुन्तिदेवी बुढाथोकीको रोहवरमा रिहाई गरिएको प्रहरीले जनाएको छ ।

सोही घटनाका कारण प्रहरीको गोली लागेर एक जनाको मृत्यु समेत भएको छ । आलमको उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको थियो । उनको ढाडमा २ गोली लागेको बताइएको छ ।

बुधबार विहानै झापा गाउँपालिकाको वडा नं ३ कामाटोली बजारका ताजमल हकको घरमा गोरु काट्दै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा स्थानीय मुस्लिम समुदायले अवरोध गरेका थिए । प्रहरीमाथि आक्रमणसहित गाडीमा तोडफोड गरेपछि अवस्था झनै जटिल बनेको थियो ।

झडपको अवस्था बनेपछि प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि झनै आक्रामक बनेका मुस्लिम समुदायले राती अवेरसम्म टायर बालेर प्रदर्शन गरेका थिए । १० बुँदे माग राख्दै स्थानीय मुस्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

समस्या समाधानका लागि बसेको सरोकारवालाको बैठकले रिहाई बाहेक कुनै मागमा छलफल गरेको छैन । आज जिल्ला प्रशासन कार्यालय झापामा स्थानीय सरोकारवालासँग थप छलफल गरेर समाधानमा अघि बढ्ने उपाध्यक्ष बुढाथोकीले जानकारी दिइन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *