काठमाडौं, ११ भदौं–नेपालमा कोरोनाको संक्रमण दरसँगै मृत्युदर पनि बढ्दै गएको छ । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा पाँच महिलासहित थप आठ जनाको मृत्यु भएको छ ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले देशभरमा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।
आज बिहीबार एकै दिन काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।
बुधबार उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका एक हजार १११ जना कोरोना संक्रमितमध्ये ३७७ जना काठमाडौं उपत्यकाका हुन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ५६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आज ९बिहीबार० सम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २१० रहेका छन् । आजसम्म देशभर ९ हजार ४८८ जना क्वारेन्टिनमा छन् ।
