भद्रपुर, ११ भदौं–झापा गाउँपालिकामा हिजो साँझ प्रहरीको गोली लागेर मृत्यु भएका रसिकुल आलमको परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति पश्चात् परिवारले शव बुझ्ने भएका छन् । भोलि शुक्रबार पोस्टमार्टम पश्चात् परिवारले आलमको शव बुझ्ने सहमति भएको हो ।
पीडित परिवारसहित झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको उपस्थितिमा आज दिउँसो जिल्ला प्रशासन कार्यालय झापामा बसेको बैठकमा सात बुँदे सहमति भएको हो । पीडित पक्षले आलमलाई शहीद घोषणा गर्नुपर्ने सहितका ११ बुँदे माग राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार सात बुँदे सहमति गरेर पीडित पक्षले आलमको शव बुझ्ने तथा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने निर्णय भएको छ । झापा प्रशासन र पीडित पक्षबीच भएको सहमति अनुसार मृतक आलमको परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउन सङ्घीय तथा प्रदेश सरकारलाई आग्रह गरिनेछ । झापा गाउँपालिकाले मृतकका परिवारलाई काजकिरियाका लागि तत्काल ५० हजार रुपैयाँ दिने पनि निर्णय भएको छ ।
यस्तै, गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई सहयोग गर्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गर्ने, मृतकका परिवारलाई रोजगारी र छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्थापन मिलाउन सङ्घीय तथा प्रदेश सरकारलाई आग्रह गर्ने सहमति भएको छ ।
