काठमाडौं, १२ भदौं–बाँके क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले असारको दोश्रो साता स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गतका तीनवटा योजनाको रकम भेरी अस्पताललाई प्रदान गरेका छन्।
कोभिड–१९ को महामारीका कारणले स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर २ मा छनोट गरिएका तीनवटा योजनाको ठेक्कासमेत हुन नसकेकाले ती तीनवटै योजना लागि बिनियोजन गरिएको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई दिने निर्णय गरेका सांसद राईले सो रकम नेपालगन्ज उपमहानगरपालिकालाई प्रदान गर्ने घोषणा गरे। तर, पनि आफुले बिनियोजन गरेको सो रकम उपमहानगरपालिकाको बेवास्ताका कारण उपयोग हुन नसकेको गुनासो स्वयं सांसद राईले नै गर्नुपर्ने अवस्था आएको छ।
सांसद राईले डेढ करोड रुपैयाँ कोभिड–१९ विरुद्ध तयारीका लागि भेरी अस्पताललाई भेन्टिलेटर लगायतका उपकरण खरिद गर्न प्रदान गरेका थिए। उपमहानगरपालिकाले रकम प्राप्त नभएको भन्दै विज्ञप्ति जारी गरेपछि सांसद राई र महानगरपालिकाबीच बिवाद चुलिएको छ। उपमहानगरपालिकाको भनाई बाहिर आए लगत्तै आक्रोशित हुनुभएका सांसद राईले भने, ‘विनियोजित रकम उपमहानगरपालिकाले कार्यान्वयन गर्न नसक्नु र उल्टै दोष आफुलाई लगाउनु राजनीतिक बेइमानी मात्र हो’
जनताको लागि ल्याएको रकम मेयर साहेबले फ्रिज गराउनु भयो उल्टै मेरो बदनाम गर्न जनतालाई भ्रम फैलाएको उनको दाबी छ। आफूले जनहितमा काम गरेको भन्दै मन्त्री राईले आफु दोषी भए राजनीतिबाट सन्यास लिने चेतावनी दिँदै नागरिकको स्वास्थ्य र विकासमा फोहोरी राजनीति नगर्न चेतावनी दिए।
