दमक, १३ बैशाख–सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारी संस्थाहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ ।

नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका बिषयमा सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर अभिमुखिकरण समेत सञ्चालन गरेको छ ।

नगरपालिकाको सहकारी शाखाले बिहिबार नगरपालिकाको सभाकक्षमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उदघाटनमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि स्वयं सञ्चालक र कर्मचारीहरु बढी जिम्मेवार हुुनुपर्ने औंल्याइन् ।

उपप्रमुख भट्टराईले सहकारीहरुबीचको एकीकरणमा स्थानीय सरकारले जोड दिएको उल्लेख गर्दै बैंक, बिद्यालयहरुसमेत एकीकरणको अभ्यासमा रहेकाले अब सहकारीहरुपनि कसैको व्यक्तिगत स्वार्थका लागि संकटपूर्ण अवस्थाबाट गुज्रिन नहुने सुझाव दिइन् ।

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमप्रसाद कोइरालाले सहकारीहरुबीचको एकीकरणका लागि नगरपालिकाले गर्दै आएको प्रयत्नप्रति सहकारी संघ सकारात्मक रहेको धारणा राखे । उनले सहकारी क्षेत्र बदनाम हुनबाट जोगाउनु सबैको साझा दायित्व र जिम्मेवारी भएको पनि उल्लेख गरे ।

कार्यक्रममा दमक नगर सहकारी समन्वय समितिका अध्यक्ष टिकाराज सापकोटाले यस किसिमका औपचारिक गोष्ठी, छलफल, तालिम आदि व्यवहारिक रुपमा पनि उपयोगी हुनुपर्ने सुझाए । उनले व्यवहारिक कार्यान्वयनमा आउने किसिमका कार्यक्रमहरु ल्याउनुपर्ने औंल्याए ।

दमक नगर सहकारी बोर्डका अध्यक्ष पुण्यप्रसाद दाहालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दमक नगर सरकारका सहकारी रजिष्टार यज्ञ निरौलाले नगरपालिका यस किसिमका अन्तरक्रियात्मक छलफल र बहसका माध्यमबाट साझा रुपमै सहकारी समस्या हल गर्न प्रयत्नरत रहेको उल्लेख गरे ।

सो अवसरमा कोशी प्रदेश सहकारी विभागका रजिष्टार हरिबहादुर खत्री र अधिकृत मोहन भट्टराईले सहकारी एकीकरण प्रकृयाका बिषयमा बिद्यमान कानुनी अवस्था, सञ्चालक र शेयर सदस्यहरुको भुमिका लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

अभिमुखीकरणमा दमकमा सञ्चालित विभिन्न ७० वटा सहकारी संस्थाका सञ्चालक, व्यवस्थापकहरुको सहभागिता रहेको सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाइँले जानकारी दिए ।

सो अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेसहित नगरपालिकाको सहकारी बिकास बोर्डका सदस्यहरुको आतिथ्य रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *