काठमाडौँ, २३ बैशाख–जनता समाजवादी पार्टी (जसपा) नेपालका ७ जना सांसदले पार्टीबाट अलग्गिएर नयाँ दल दर्ताको निवेदन दिएका छन् । आइतवार निर्वाचन आयोगमा पुगेर पार्टीका वरिष्ठ नेता अशोककुमार राईसहितका नेताहरूले जनता समाजवादी पार्टी नामक दल दर्ताको निवेदन दिएका हुन्।

पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधानविपरीत काम गरेको भन्दै पार्टीबाट अलग्गिनुपरेको नेता राजेन्द्र श्रेष्ठले बताए। उनले जसपा, नेपालमा रहेका १२ जना सांसदमध्ये ७ जना सांसद आफूहरूसँग रहेको दाबी गरे। उनले सरकारलाई समर्थन जारी राख्ने पनि बताए।

राईले भने, ‘हाम्रो पार्टीको नाम जनता समाजवादी पार्टी हो। हाम्रो यो निरन्तरता हो। हिजोको जुन घोषणापत्र, विधान, नीति, कार्यक्रम जे जति छन्, पार्टीको त्यो सबैलाई हामी निरन्तरता दिन्छौँ। हामीसँग प्रतिनिधिसभाका १२ जना सांसदमध्ये ७ जना हुनुहुन्छ। बहुमत सांसद हामीसँग हुनुहुन्छ। अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि हो। अहिले बनेको सरकारको निरन्तरताको पक्षमा छौँ। विधानविपरीतका कुरा भए। त्यसैले हामीले यो निर्णय लिएका हौँ।’

राईलाई नवलकिशोर साह, रेणुकुमारी यादव, हसिना खातुन, डा.वीरेन्द्र महतोले साथ दिएका छन्। त्यस्तै, प्रदीप यादव र सुशीला श्रेष्ठले राईलाई साथ दिएका छन्। अध्यक्षमा राई रहेका छन् भने रेणुकुमारी यादव, नवलकिशोर साह, रणध्वज लिम्बू, परशुराम रम्तेल र सुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ।

संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन्। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ। सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *