दुधे, २५ बैशाख–शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको हो ।
नगरको रोजगार शाखाले १ सय दिन ज्यालमा काम गर्ने श्रमिकहरुलाई थप हौसला प्रदान गर्न श्रम संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तर्गत सम्मान गरिएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा लगायतले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले प्रधानमन्त्री रोजगार कार्यक्रमले नगरका श्रमिकहरुलाई राहत पुगेको बताए । नगर भित्रका गरिब तथा विपन्न समुदायमा आय आर्जन मै कठिनाई भएका बेला कम्तिमा पनि १ दिनको रोजगार पाउने गरेका छन् । त्यसबाट आउने एकमुष्ठ रकमले उनीहरुलाई घर खर्च र छारा छोरीको पठाई खर्च गर्न राहत पुगेको उनको भनाई छ ।
श्रमिकले सीप सिक्ने मौका पाएका छन् भने, नगरपालिकाले पनि रोजगार कार्यक्रमका श्रमिकहरु मार्फत गराएका विकास निर्माणका काम प्रभावकारी देखिएको नगरप्रमुख थोप्राले जानकारी दिए ।
नेपालको संविधानको मैलिक हक अन्तर्गत धारा ३३ रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्न बेरोजगार व्यक्तिहरुलाई न्युनतम रोजगारीको प्रत्याभूति गर्नुका साथै आवश्यक रोजगार सेवा र सहयाता प्रदान गर्न सार्वजनिक पूर्वाधाररुको निर्माण स्तरोन्नती र विस्तारमा योगदान गर्न प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत प्रकाश चौधरीले बताउनुभयो ।
