बिर्तामोड, ११ जेठ–नेकपा (माओवादी केन्द्र) ले दमक नगरमा एक लाख लिची र कागतीको बिरुवा रोप्ने भएको छ । संगठन सुदृढीकरण अभियान अन्तर्गत माओवादी केन्द्रले दमकमा एक घर एक लिची र कागतीको बिरुवा रोप्न लागेको दमकमा पत्रकार भेटघाट गरेर यस्तो जानकारी गराएको हो ।
दमकमा आज (शुक्रबार) पत्रकार भेटघाटमा पार्टीका प्रदेश कमिटी सदस्य दुर्गा चौलागाई (श्रीकान्त) का अनुसार जनआन्दोलनपछि पूर्वको संगठन निर्माणमा पार्टीले खेल्नु पर्ने भूमिका कम भएको महशुस गरेर अभियान सञ्चालन गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) झापाका संयोजक राजु आचार्य (अग्नी) ले पार्टीको संगठन सुदृढीकरण अभियान अन्तर्गत माओवादी केन्द्रले दमकमा एक घर एक लिची र कागतीको बिरुवा रोप्न लागेको बताए । उनले पाँच वर्षभित्र दमकलाई आत्मनिर्भर बनाउने उद्धेश्यले लिची र कागतीको बिरुवा घर–घरमा रोप्न लागिएको जानकारी दिए । उनले जनतालाई उत्पादनसँग जोड्ने नीति अनुसार जेठ १३ गतेदेखि फलफूलका बिरुवा रोप्न लागिएको बताए ।
पार्टी जिल्ला कमिटी संयोजक अग्नीका अनुसार संगठन सुदृढीकरण अभियानकैबीच जनयुद्धमा सहयोग गर्ने परिवारलाई सम्मान गर्ने कार्यक्रम छ । अभियानकैबीच दमकका करिब एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शुभकामना पत्र समेत हस्तान्तरण गरिने उनले बताए ।
पत्रकार भेटघाटमा कोशी प्रदेश कमिटी सदस्य दुर्गा चौलागाई (श्रीकान्त), प्रदेश कमिटी सदस्य बीरेन्द्र बस्नेत, कोशी प्रदेश कमिटी सदस्य तथा वाइसियल केन्द्रीय सचिव कर्मा पुलामी, पार्टी दमक नगर इन्चार्ज बेदु गौतम, वाइसियल झापा अध्यक्ष डेविट शाही, सन्तोष कार्की, प्रशान्त भण्डारी लगायतको उपस्थिति थियो ।
