डा.रेशम पुन

डा रेशम पुन

गर्मी तथा बर्खायाममा विशेषगरी सरुवा रोगहरू धेरै देखिन्छन्। जसमध्ये नेपाल र दक्षिण एसियामै टाइफाइड धेरै देखिन्छ। अन्य सरुवा रोगजस्तै टाइफाइड पनि मुख्यतयाः प्रदूषित खाना र पानीबाट नै सर्ने हो।

त्यसैले गर्मीयाम र मनसुनमा टाइफाइडका धेरै केस देखिने गरेका छन्। यसको मुख्य कारण ब्याक्टेरिया हो। जसलाई हामी साइमोनेला टाइफी भन्छौँ। अर्को साइमोनेला प्यारा टाइफीले पनि टाइफाइड हुन्छ।

टाइफाइडका लक्षण
–पेट तथा टाउको दुख्ने
–अचानक ज्वरो आउने, बान्ता हुने
–अत्यधिक पसिना आउने, टाउको चिसो महसुस हुने
–कब्जियत हुने, कमजोरी महसुस हुने

बच्ने उपायहरू
–राम्रोसँग पकाएको खाना मात्र खाने र खानेकुरालाई छोपेर राख्ने
–बासी सडेगलेका र झिङ्गा भन्केको खाना नखाने
–सफा र सुरक्षित पिउने पानीको प्रयोग गर्ने
–सफा चर्पीको प्रयोग गर्ने
–टाइफाइडविरुद्धको खोप लगाउने

जटिलता
–संक्रमण शरीरका विभिन्न भागमा फैलिन गई अन्य अंगमा रोगहरू देखिने
–कलेजोमा असर
–सानो आन्द्रामा घाउ हुनु, रगत बग्नु र प्वाल पर्नु, पेटमा संक्रमण फैलिएर पेरिनोनाइटिस हुने
–मुटुमा समस्या देखिने
–मिर्गौलामा समस्या
–मस्तिष्क सम्बन्धी जटिलताहरू

घरमै गर्न सकिने उपाय
–तुलसी र मरिच प्रयोग गर्ने। टाइफाइडका रोगीलाई तुलसीको प्रयोग एकदमै फाइदाजनक हुन्छ। मरिचको दाना र तुलसीको पत्तालाई मिसाएर बनाएको पेस्ट पानीमा मिसाएर खानाले रोगीलाई राहत दिन्छ।

–गाजरको रस सेवन पनि टाइफाइडका बिरामीका लागि लाभदायक मानिन्छ।

–टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ। यस्तो अवस्थामा लसुनको दुईचार पोटी भुटेर खाली पेटमा खाँदा फाइदा हुन्छ।

–स्याउ र अदुवाको जुस पनि टाइफाइड रोगीका लागि लाभदायक मानिन्छ।

–महको सेवनले टाइफाइड रोगीका लागि औषधिको काम गर्छ। एक कप तातो पानीमा दुई चम्चाजति मह मिसाएर पिउनाले रोग निको पार्न मद्दत गर्छ।

गर्मी र वर्षातको समयमा अरु विभिन्न संक्रामक रोगहरू पनि देखिने र त्यसका लक्षणहरू एक अर्कासँग मिल्दोजुल्दो हुनेहुनाले टाइफाइड पुष्टि गर्न प्रयोगशालामा परीक्षण गर्र्नु पर्छ। उपचारमा ढिलाइ हुँदै गए वा बेवास्ता गरे बिरामी अलमल र भ्रमित हुने, आन्द्रामा रक्तश्राव वा प्वाल पर्नेजस्ता जटिलताहरू देखिन सक्दछ। यस्तो जटिलता सामान्यतः बिरामी भएको २ देखि ३ हप्तामा देखिने गर्दछ। समयमा औषधि गरे यो रोग पूर्णरुपमा निको हुन्छ।

संक्रमित बिरामीको दिसाबाट टाइफाइडको ब्याक्टेरिया खाना वा पानीको माध्यमबाट फैलने भएकाले प्रयोग गर्ने पानी अथवा खानामा ध्यान दिनुपर्छ।

(डा.रेशम पुन स्टार अस्पताल सानेपाका कन्सल्ट्यान्ट फिजिसियन हुन्)

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *