एजेन्सी, (काठमाडौं), २१ जेठ–फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले रियल मड्रिडसँग ‘फ्री ट्रान्सफरमा’ सम्झौता गरेका छन्।
३० जुनमा पिएसजीसँगको सम्झौता सकिएपछि १ जुलाईबाट खुल्ने ट्रान्सफर विन्डोमा उनी औपचारिक रूपमा क्लबमा अनुबन्ध हुनेछन्।
एम्बाप्पेले क्लबसँग गत फेब्रुअरीमा नै अनुबन्ध हुने मौखिक सम्झौता गरेका थिए। उनले गत मेमा भने औपचारिक रूपमा सिजनको अन्तसँगै पिएसजी छोड्ने घोषणा गरेका थिए।
२५ वर्षीय एमबाप्पे अब लालिगाको ट्रान्सफर विन्डो खुलेसँगै मड्रिड आउनेछन्। मड्रिडले सम्भवतः आगामी साता उनीसँगको सम्झौता सार्वजनिक गर्ने छ। युरोकप सुरु हुनुअघि उनलाई क्लबले औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
एम्बाप्पेले पिएसजीमा कीर्तिमान २ सय ५६ गोल गरेका छन्। उनी २०१७ मा मोनाकोबाट पिएसजी पुगेका थिए।
उनले रियलसँग २०२९ सम्मको सम्झौता गरेका छन्। उनले हरेक सिजन १५ मिलियन युरो प्राप्त गर्दा बोनस स्वरूप पाँच वर्षमा १ सय ५० मिलियन युरो पाउने छन्। त्यसबाहेक इमेज राइट बापतको रकम समेत उनले प्राप्त गर्ने छन्।
