दमक, २१, जेठ–इलामको माङ्सेबुङबाट झापाको दमकतर्फ आउँदै गरेको बोलेरो जीप रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु गएको छ । एक महिला र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगूले जानकारी दिए ।
मृत्यु हुनेहरुमा इलाम माङ्सेबुङ गाउँपालिका-५ बस्ने वर्ष अन्दाजी ३० की सर्मिला वनेम र माङ्सेबुङ गाउँपालिका ३ बस्ने निरु लिम्बूका छोरा अन्दाजी वर्ष २ का निहाङ लिम्बू रहेका छन् ।
त्यस्तै इलाम माङ्सेबुङ गाउँपालिका-३ खलङ्गे बस्ने वर्ष अन्दाजी २६ की निरु लिम्बू घाइते भएकी छन् । उनको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।
आज साँझ ५ः५० बजेको समयमा इलाम चुलाचुली-५ चपेटीस्थित दमक–लारुम्बा भित्री सडकखण्डमा दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको लु १ च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीको कारण गाडी बगाइ बेपत्ता भएको थियो ।
गाडीमा चालकसहित जम्मा ६ जना सवार रहेका थिए । घटनास्थलदेखि अन्दाजी १–२ किलोमिटर आसपासमा मृतकको शव फेला परेको थियो ।
चालकसहित तीनजना सकुशल निस्किएको प्रहरीले जनाएको छ । चालक तत्काल सम्पर्कमा नआएको, बुझ्ने कार्य भइरहेको तथा गाडी घटनास्थलबाट निकाल्ने पहल भइरहेको डीएसपी जवेगूले जानकारी दिए ।
घटनास्थल तत्काल सुरक्षित राखी आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा प्रहरी टोली खटिएर मुचुल्का उठाउने काम भइरहेको डीएसपी जवेगूले बताए ।
