नेपालगन्ज, २ असार–बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित एक सामुदायिक वनमा कागती खेती गर्न सुरु गरिएपछि त्यसबाट सो वनका उपभोक्तालाई राम्रो आम्दानी हुने देखिएको छ ।

राप्तीसोनारी गाउँपालिका–७ मा रहेको कुश्मिया सामुदायिक वनमा करिब आठसय कागतीका बिरुवा लगाएर पहिलोपटक गरिएको सामूहिक कागती खेतीबाट समूहले राम्रो आम्दानी गर्ने देखिएको सो सामुदायिक वनका सचिव काशिराम चौधरीले बताउनुभयो ।

कुश्मीया सामुदायिक वनका सचिव चौधरीले वनको तीन हेक्टर जग्गामा विभिन्न प्रजातिका कागती लगाई सुरु गरिएको सामूहिक खेतीबाट यस सिजनमा करिब चार सयदेखि पाँचसय किलोसम्म कागती फलिरहेको अनुमान गरिएको बताउनुभयो ।

उहाँले अन्य बाली जस्तो सधैँ हेरविचार गोडमेल समेत गर्नु नपर्ने र बँदेल, बाँदरजस्ता जनावरले पनि कागती बालीलाई नोक्सानी नगर्ने हुँदा थप वनको खाली जग्गामा पनि कागती खेती विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो ।

सचिव चौधरीले बनमा सिँचाइको पर्याप्त सुविधा नहुँदा चाहेको जति कागती उत्पादन हुन नसकिरहेको बताउँदै कृषि ज्ञान केन्द्र बाँकेसँग कागती खेतीका लागि सहयोग गरिदिन आग्रह गरे पनि सुनवाइ नभएको बताउनुभयो ।

बि ग्रुपले सामुदायिक वनमा कागती खेती गर्नका लागि उपभोक्तालाई प्राविधिक ज्ञान दिनुका साथै अन्य सहयोग गर्दैआएको सचिव चौधरीले बताउनुभयो । उहाँले वन आसपास क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागि रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा दिने लक्ष्य लिएर कागती खेती सुरु गरिएको बताउँदै स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग पाएमा कागती खेतीसँगै वन क्षेत्रको खाली जग्गामा पार्क निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा सामुदायिक वनलाई विकास गर्ने योजना रहेको बताउनुभयो ।

बाँकेमा गर्मीको सिजनमा बिशेषगरी कागतीको माग अत्यधिक बढ्ने हुँदा भारतबाट आउने कागतीमै बजार निर्भर रहने गरेकाले स्थानीयस्तरमा कागती खेतीलाई बिशेष प्राथमिकतामा राखेर किसानलाई प्राविधिक सहयोग गर्ने काम भइरहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *