दमक, ३० असार–दमकका तेक्वान्दो खेलाडीहरुले शनिवार सामूहिक धान रोपाई गरेका छन् । दमक तेक्वान्दो डोजाङले दमक–४ गोलाटारमा स्थानीयले जग्गा उपभोग गर्न दिएको ३ विगाहा बढी जमीनमा धान रोपाई गरेका हुन् ।
दमक डोजाङले आन्तरिक स्रोत जुटाउन उद्देश्यले खेलाडीहरुको सहभागितामा शनिवार सामूहिक रोपाई गरिएको अध्यक्ष जितु धिमालले बताए । उनका अनुसार धान रोपाईमा प्रशिक्षकहरु प्रतिमा तामाङ, मनु कटुवाल, आयुस धिमाल, कपिल धिमालसहितका प्रशिक्षक तथा खेलाडीहरु गरि ४० जनाले श्रमदान गरेका छन् ।
शनिवार डेढ विगाहा जमीनमा धान रोपाई गरिएपनि थप डेढ विगाहा जमीनमा भने असार ३१ गते सोमबार पुनः सामूहिक रुपमा धान रोपाई गरिने डोजाङका सदस्य संगम राईले बताए । डोजाङका सदस्य आरसी अधिकारीले संस्था आफै स्वालम्बी बन्न यस किसिमको कार्यक्रम शुरुवात गरिएको जानकारी दिए ।
धान रोपाईमार्फत आम्दानी हुने रकम संस्थाको हितमा खर्च गरिने राईले बताए ।
दमकमा तेक्वान्दो खेलको विकासमा टेवा पुरयाँउन उद्देश्यले डोजाङ गठन गरि दर्ताको प्रकृयामा रहेको अध्यक्ष धिमालले बताएका छन् ।११ सदस्यीय डोजाङको संरक्षकमा गजु देवान, उपाध्यक्षमा नविन योगी, सचिवमा श्याम आचार्य र कोषाध्यक्षमा प्रतिमा तामाङ रहेका छन् ।
