दमक, २ साउन–झापामा दुर्लभ कटुवासहित २५ वटा वन्यजन्तुको उद्धार गरिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा एउटा दुर्लभ कछुवासहित २५ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

“बिर्तामोडमा बजारमा बेच्न राखिएको दुर्लभ कछुवा उद्धार गरेर कछुवा संरक्षण केन्द्रमा बुझायौं”, उहाँले भन्नुभयो, “बेच्न राख्नेलाई पनि थाहा थिएन, उसले पनि किनेर ल्याएको रहेछ ।”

अजिंगर १८ वटा, गोमन सर्प दुई वटा, हरिण दुई वटा, बिरालो र गिद्ध एक-एक वटा उद्धार गरिएको प्रमुख राईले बताउनुभयो । चोरी सिकारीका कारण पुड्के बँदेल लोप हुने अवस्थामा पुगेको प्रमुख राई बताउनुहुन्छ ।

चालू आवमा वन्यजन्तु सम्बन्धी मुद्दामा तीन जनालाई कारबाही समेत गरिएको छ । एक केजी ७९० ग्राम तौल भएको हात्तीको बंगारासहित अर्जुनधारा नगरपालिका–७ जरुवा टोलका ४७ वर्षीय तीखबहादुर विश्वकर्मा घरबाट पक्राउ गरिएको थियो ।

तीखबहादुर विश्वकर्माको बयानको आधारमा ५० वर्षीय शावा लिम्बु र चेकबहादुर लिम्बूलाई समेत पक्राउ गरी जेल चलान गरिएको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *