काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् ।
आज (बिहीबार) ६२ औं इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री दाहालले प्रधानमन्त्री ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भएको सहमतिका आधारमा बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे ।
मन्त्री देवेन्द्र दाहालले कांग्रेस र एमालेका बीचमा भएको सहमति नलुकाइएको पनि बताए । उनले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरू मिलेर सरकार बनाएको बताए । मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताए ।

