काठमाडौँ, ७ साउन—पछिल्लो एक वर्षमा आधा दर्जनभन्दा बढी यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल फेल भएका १ हजार ८ सय ९९ सय जनालाई पास गराएका छन् । काठमाडौं उपत्यकाभित्र र बाहिरका कार्यालयले ट्रायल फेल भएकालाई लाइसेन्स दिने गरी पास गराएको यातायात व्यवस्था विभाग स्रोतको भनाइ छ ।

२०७२ यता जारी भएका मध्ये १ लाख २ हजार ७ सय ११ लाइसेन्स नक्कली रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेकै बेला गएको एक वर्षमा ट्रायल परीक्षामा फेल भएका परीक्षार्थीलाई प्रणालीमा किर्ते गरी पास गराएको पाइएको हो । विभाग स्रोतले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी फेल भएकालाई पास गराउनेमा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पर्छ । उक्त कार्यालयले ५ सय २० जनालाई किर्ते गरी पास गराएको विभाग स्रोतको दाबी छ ।

केही–केही कार्यालयले पास भएकालाई फेल र फेल भएकालाई पास बनाएरसमेत प्रणालीमा तथ्यांक राख्ने गरेको पाइएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपाली भने ट्रायल फेल भएकालाई पास नगराएको दाबी गर्छन् । ‘यो हामीसँग सम्बन्धित नभएको हुन सक्छ । युजर आईडी विभागले चलाउने हो,’ उनले भने, ‘यो पुरानो तथ्यांक पनि हुन सक्छ । तैपनि अलि पहिला अख्तियारले विवरण मागेकाले सबै पठाइसकेका छौं । ट्रायल फेल भएकालाई पास गराएका छैनौं ।’

‘१ लाख २ हजार लाइसेन्स नक्कली’
यातायात व्यवस्था कार्यालय, चाबहिलबाट २ सय २०, ठूलोभर्‍याङबाट ४ सय १२, जगाती भक्तपुरबाट ६४, बुटवलबाट १ सय ३१, इटहरीबाट ४ सय ७३ र कास्कीबाट ७९ जना ट्रायल फेल भएका परीक्षार्थीलाई प्रणालीमा किर्ते गरी पास गराइएको विभाग स्रोतले जनायो । ‘प्रायः ट्रायल पास हुनेलाई १५ दिनपछि राजस्व तिर्न आउन भनिन्छ,’ विभाग स्रोत भन्छ, ‘यहीबीचमा चलखेल गरेर आर्थिक लेनदेन गरी फेल भएकालाई पास गराइन्छ ।’ पास–फेल भएको कुरा त्यही दिन प्रणालीमा राख्न सके यस्ता समस्या नआउने विभागको दाबी छ ।

ट्रायल सञ्चालक, ट्रायल दिँदा खटिने ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालयका कर्मचारीको संलग्नतामै यस्तो कार्य सम्भव हुने विभाग स्रोतको भनाइ छ । ‘यस्तो काम एउटै निकायले चाहेर मात्र सम्भव देखिन्न,’ विभागका एक कर्मचारीले भने, ‘ट्रायल लिन खटिने सबैको संलग्नता भएरै यस्तो गरिन्छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *