काठमाडौँ, ८ साउन–गएको एक वर्षमा मात्रै करिब १ खर्ब ३५ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो ०८० असार १ देखि ०८१ असार मसान्तसम्म थपिएको तिर्न बाँकी सार्वजनिक ऋण हो ।
गत आर्थिक वर्षको सुरुमा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको तिर्न बाँकी सार्वजनिक ऋण गत असार मसान्तसम्म २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
तथ्यांकअनुसार गएको १२ महिनामा १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सार्वजनिक ऋण थपिएको हो । गत जेठ मसान्तको तुलनामा असारमा मात्र कुल सार्वजनिक ऋण ८९ करोड ५८ लाख रुपैयाँ थपिएको छ । सरकारले गत आर्थिक वर्ष राजस्व संकलन, पुँजीगत खर्च, वैदेशिक सहायता तथा अनुदान परिचालनमा मात्र होइन, सार्वजनिक ऋण संकलनमा पनि लक्ष्य भेटाउन सकेको छैन । गएको वर्ष सरकारले कुल ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको थियो । असार मसान्तसम्म ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख ऋण संकलन भएको छ । यो वार्षिक लक्ष्यको ७९.०८ प्रतिशत हो ।
उक्त अवधिमा सरकारले २ खर्ब ४० अर्ब आन्तरिक र २ खर्ब १२ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य तय गरेको थियो । असारसम्म आन्तरिक ऋण लक्ष्यको ९७.६८ प्रतिशत अथवा २ खर्ब ३४ अर्ब ४४ करोड रुपैयाँ र बाह्य ऋण लक्ष्यको ५८.१० प्रतिशत अथवा १ खर्ब २३ अर्ब ६० करोड रुपैयाँ संकलन गरेको छ ।
यस्तै, गत आर्थिक वर्ष ऋण सेवा खर्च (साँवा र ब्याज भुक्तानी) मा ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । यो वार्षिक लक्ष्यको ९२.५४ प्रतिशत हो । गत आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि कुल ३ खर्ब ३० अर्ब रुपैयाँ विनियोजन गरेको थियो । कुल गार्हस्थ्य उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ५.३५ प्रतिशत छ ।
