गीताकुमारी पौडेल अधिकारी

दमक, ११ साउन–दमक नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख तथा पूर्व प्राध्यापक समेत रहेकी नेकपा (एमाले) की केन्द्रिय सदस्य गीताकुमारी पौडेल अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छिन् ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा.शिवराज अधिकारीलाई नियुक्त गरिएको छ । प्रा.डा.पाल्पाका बासिन्दा हुन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगका उपाध्यक्षसहित समावेशीता र विज्ञताका आधारमा ६ जना सदस्यहरुको नियुक्ती गरेको हो ।

आयोगका अन्य सदस्यहरुमा महोत्तरीका डा.आरपी बिच्छा, डा.रमेश सिंह, डा.प्रकाशकुमार श्रेष्ठ, डा.जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका छन् । राष्ट्रिय योजना आयोगमा नियुक्त भएकाहरु मध्ये बिच्छा, टण्डन र अवस्थी नेपाली कांग्रेस निकट हुन् भने अरु नेकपा एमाले निकट हुन् ।

आयोगको सदस्यमा नियुक्त दमककी गीताकुमारी पौडेल अधिकारी साधारण किसान परिवारमा जन्मिएकी हुन् ।

झापाको तत्कालिन कोहबराबाट दमकका मदन अधिकारीसँग दाम्पत्य जिवन शुरु गरेकी उनले आफ्नो घर परिवारको हेरचाहसँगै स्नाकोत्तर तहको अध्ययन पुरा गरेर दमक बहुमुखी क्याम्पसमा अर्थशास्त्र बिषयको प्राध्यापन गर्दै आएकी थिइन् । उनले अहिले सोही बिषयमा एमफिल गरिसकेकी छिन् ।

उनी २०७४ को स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

प्राध्यापन पेशाबाट प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा सोझै नगरको उपप्रमुख पदमा निर्वाचन लड्ने अवसर पाएकी अधिकारी लोकप्रिय मतसहित निर्वाचित भएकी थिइन् ।

त्यसबेला उनी नेपाल नगरपालिका संघको राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा समेत बनेकी थिइन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा भने नगर प्रमुख चुनिन नसकेकी अधिकारीलाई यस क्षेत्रको बौद्धिक महिला नेतृको रुपमा हेरिँदै आएको छ । अर्थशास्त्र बिषयकी प्राध्यापक उनी दमक बहुमुखी क्याम्पसमा कार्यरत थिइन् ।

२०४६ सालमा अखिल नेपाल महिला संघको साधरण सदस्यता लिएर राजनीतिमा होमिएकी अधिकारीले शिक्षण पेशा संगसंगै राजनीतिलाई समेत निरन्तरता दिएकी थिइन् ।

उनले २०४७ साल देखि दमक बहुमुखी क्याम्पसमा अध्यापन गराएकी थिइन् । उनी क्याम्पसमा सहप्राध्यापकका रुपमा प्राध्यापन गर्दै आएकी थिईन् ।

क्याम्पस प्रमुख बन्ने लाईनमा रहेकी अधिकारीलाई एमालेले स्थानीय तह निर्वाचन २०७४ मा उपमेयरको उम्मेद्वार बनाएको थियो । उनी दुई कार्यकाल सम्म एमाले निकटको नेपाल बुद्धिजिवी परिषद् झापाको उपाध्यक्ष, दुई कार्यकाल सम्म एमाले दमक नगर समिति सदस्य, अनेमसंघ जिल्ला सल्लाहकार सदस्य, तथा नेपाल प्रगतिशिल प्राध्यापक संगठन दमक बहुमुखी क्याम्पसको इकाई अध्यक्ष समेत भएकी थिइन् ।

योजना आयोग के हो ?

राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योज ना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो ।

यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने गर्दछ । यसले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रूपमा पनि कार्य गर्दछ ।

साथै यसले विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्दछ । यसैगरी यसले देशको आर्थिक विकास सम्वद्ध विषयहरूमा विचार आदानप्रदान, वहस, छलफल र अन्तक्रियाका लागि एउटा मञ्चको रूपमा कार्य गर्दछ । यसबाहेक यसले नागरिक समाज, गैरसरकारी संस्थाहरू र निजी क्षेत्रको समस्याहरू विश्लेषण गर्ने र समाधान गर्ने संस्थाको रूपमा समेत सेवा प्रदान गर्दछ ।

प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको अध्यक्षता गर्ने गर्छन भने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, विभिन्न विषय क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरी विज्ञता एवं समावेशी आधारमा छ जना सदस्यहरू रहने गरेका छन् ।

नेपाल निजामती सेवाको विशिष्ट श्रेणीको अधिकृत ९सचिव० सदस्य सचिवको रूपमा रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव आयोगको पदेन सदस्यको रूपमा रहने व्यवस्था छ ।

आयोगको भूमिका र कार्य जिम्मेवारीहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा समेत उल्लेख गरिएको छ ।

आयोगले मध्यमकालीन खर्च संरचना, आयोजना बैंक, बजेट सीमा तथा मार्गदर्शन एवं अनुगमन मूल्यांकन सम्बन्धी काम गर्ने उल्लेख छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *