झिलझिले, ११ साउन–सुनजस्तो पहेंलो धातु (नक्कली सुन) देखाएर ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले झापाको शिबसताक्षीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको सिरीजङ्घा गाँउपालिका–४ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका–११ पुतलीझोडामा बस्दै आएका ४२ वर्षीय पदमबहादुर विश्वकर्मा (माइला कामी) र ताप्लेजुङ मैवाखा गाँउपालिका–६ सामतोङका ४१ वर्षीय राम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो शिवसताक्षी नगरपालिका–९ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फको रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा उनीहरुले सुनसरी बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारस्थित पाथीभरा ज्वेलर्स सञ्चालन गर्ने मानबहादुर बिकलाई बिलबिजक नभएको सुनजस्तो धातु सात सय ग्राम बेच्न लागेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा फेला परेका लिम्बूलाई पक्राउ गरी चेकजाँच गर्दा उनले बोकेको झोलाभित्र एक किलो १९० ग्राम तौलको पहेंलो सुनजस्तो देखिने वस्तु फेला पारेको प्रवक्ता चन्दले बताउनुभयो ।

प्रहरीले उनको साथबाट फलामको बिड बिनाको एक थान मार्तोल, विभिन्न सुन चाँदी पसलको बिल र भिजिटिङ कार्डहरु समेत बरामद गरेको छ । लिम्बूलाई सोधपुछ गर्दा उनका साथी पदमबहादुर फरार भएको बताएका थिए । खोजतलासका क्रममा पदमबहादुरलाई अर्जुनधारा–११ पतलीझोडामा भाग्दै गरेको अवस्थामा राति ९ः३० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट झापा जिल्ला अदालतमा उपस्थित गराई ठगी कसुर मुद्दामा दिन पाँच म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथै, पक्राउ परेका राम लिम्बू यसअघि कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरेको भन्ने समेत खुलेको प्रवक्ता चन्दले बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *