काठमाडौं, १६ भदौं–विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ। सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।
भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट सर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो। दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ। यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ। नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो। आन्तरिक उडान पनि स्थगन गरिएको थियो।
यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन्। विदेशमा अलपत्र नेपाली ल्याउन तथा बन्दाबन्दीले अड्किएका नेपाल र विदेश दुवैतर्फ नागरिक आवतजावतका लागि चार्टर्ड उडानहरु भए। त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट कार्गो उडान पनि सञ्चालन गरियो। बन्दाबन्दीको अवधिमा दैनिक १८ वटासम्म चार्टर्ड उडान भएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ यात्रु नेपाल आएका छन्। नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन्।
कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ। यो चैत ११ देखि भदौ १४ गतेसम्मको विवरण हो।
