शिबगञ्ज, १२ साउन–यो वर्ष झापाको बर्खे धान रोपाइँ हालसम्म ९२ प्रतिशत सम्पन्न भइसकेको छ । कूल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ९२ प्रतिशत अर्थात् ६९ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष बर्खे धान खेतीको क्षेत्रफल घटेको छ । गत वर्ष ८५ हजार ७५० हेक्टरमा बर्खे धान खेति गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

चैते धानको क्षेफल बढ्यो
आर्थिक वर्ष २०७९/०८० मा १९ हजार आठ सय हेक्टरमा चैतेधान खेती गरिएकोमा आव २०८०/८१ मा २० हजार हेक्टरमा चैते धान खेती गरिएको छ ।

क्षेत्रफलसँगै उत्पादन समेत बढेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । आव २०७९/०८० मा एक लाख दुई हजार नौ सय ६० मेट्रिक टन धान उत्पादन भएकोमा आव २०८०/०८१ मा एक लाख १६ हजार दुई मेट्रिकटन चैते धान उत्पादन भएको छ ।

प्रविधि सिकाउन मेसिनले रोपाइँ
यस्तै, झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका एक सय पाँच बिघामा मेसिनले रोपाइँ गरिएको छ ।

कृषकलाई प्राविधि अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भद्रपुरमा १० बिघा, बिर्तामोडमा ७ बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमूना धान खेती गरिएको हो । जसमा ६० जना कृषक आबद्ध छन् ।

कोशी प्रदेश सरकारको ‘कष्टम हायरिङ्ग सेन्टरमार्फत यान्त्रिकीकरण प्रवद्र्धन कार्यक्रम’ एनएमसी एग्रो फर्मसँग सम्झौता गरी कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनका रुपमा धान रोपाइँ गरेको निमित्त प्रमुख विष्ट बताउनुहन्छ ।

“कृषकसँगको ५० प्रतिशत लागत सहभागितामा प्रदर्शनी खेती गरिएको हो”, उहाँले भन्नुभयो, “कम लागतमा धान खेती गर्न कृषकलाई प्रोत्साहन गर्न प्रदर्शनी खेती गरिएको छ, यसबाट कृषकको २० प्रतिशत लागत घट्छ ।”

कृषकलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको छ । १०५ बिघा धान खेतीका लागि रू पाँच लाख ५० हजार अनुदान दिइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

यो कार्यक्रमबाट ‘राइस ट्रान्सप्लान्टर’ प्रविधिको विस्तारमा सहयोग पुग्ने, आगामी दिनमा अन्य संस्थालाई कष्टम हायरिङ सेन्टर स्थापना गरी व्यवसाय गर्ने मार्गदर्शन हुनुका साथै कृषकलाई मेसिनको प्रयोगतर्फ प्रेरित गर्न मद्दत हुने जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *