फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, १२ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको विषयमा बहस गर्न आवश्यक रहेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि व्यापक छलफल र बहस हुनुपर्ने कुरामा जोड दिनुभयो।

‘संविधान संशोधनका लागि बहस र छलफल हुनुपर्ने तर यहाँ गुपचुपमा संविधान संशोधन गर्ने कार्य हुन गइरहेको छ’ उहाँले भन्नुभयो, ‘त्यसको आवश्यक किन पर्‍यो ?’ अध्यक्ष नेपालले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलोमेलो हुन लागेको आशङ्कासमेत व्यक्त गर्नुभयो।

लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस् भनी सचेत गराउँदै उहाँले नेपाली जनताले सुशासन र देशलाई समृद्ध बनाउन चाहेको र यसको लागि बहस हुनु आवश्यक रहेको बताउनुभयो।

नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै नेपालले नेपाली समाजवादका बारेमा चर्चा गर्नु आवश्यक रहेको बताउनुभयो। अध्यक्ष नेपालले नेपालीपनको समाजवाद हुनुपर्नेमा जोड दिँदै त्यो व्यवहारिक हुनुपर्नेमा जोड दिनुुभयो।

अध्यक्ष नेपालले पुष्पलालले जसरी कम्युनिस्ट पार्टीलाई अगाडी बढाउने सिद्धान्तलाई पछ्याउँदै जानुपर्नेसमेत बताउनुभयो। पुष्पलालबाट आफूहरूले धेरै कुरा सिक्नुपर्ने रहेको बताउँदै उहाँले राजनीतिमा चुनौतीहरू आउने र त्यसको सामना गर्दै जानुपर्ने बताउनुभयो।

कम्युनिस्ट पार्टीमा नीति प्रधान हुने बताउँदै उनले सही नीति भयो भने भने सही लक्ष्य प्राप्त गर्न सकिने स्पष्ट पार्नुभयो। अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने समेत बताउनुभयो।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पनि समाजवाद र कम्युनिस्ट विचारलाई अँगालेका कारण कुरा मिलेको अध्यक्ष नेपालले बताउनुभयो। उहाँले भन्नुुभयो, ‘उपेन्द्रजी त्यही कारणले आउनुभयो तर ओलीले नराम्रो रूपमा लिन्छन् कि भनेर देउवाजी आउनु भएन।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *