केपी शर्मा

काठमाडौँ स् प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी दिइएको छ। एमालेको आजको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो।

बैठकमा अध्यक्ष ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखे। उनले बैठकलाई सम्बोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षाअनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिकामाथि प्रकाश पारेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तथा नीति तथा योजनासम्बद्ध विभागको संयोजन, उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश तथा स्थानीय तह समन्वयको संयोजन, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय र सामाजिक विकास सम्बद्ध विभागको संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी तोकिएको छ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सङ्गठनात्मक कामको अनुगमनको र पार्टी सम्बद्ध विभागहरूको संयोजन, उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेलाई राजकीय मामिला तथा पूर्वाधार तथा विकास सम्बद्ध विभागहरूको संयोजन र उपाध्यक्ष गुरु बराललाई संसदीय मामिलाको संयोजन, सुशासन र सेवाप्रवाह सम्बद्ध विभागहरूको जिम्मेवारी तोकिएको छ।

पार्टी महासचिव शङ्कर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई पार्टी स्कुल विभागको प्रमुख, उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख गौतमले बताए।

सचिवहरू गोकर्णराज विष्टलाई भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुख, योगेश भट्टराईलाई संसदीय विभाग प्रमुख, रघुवीर महासेठलाई परराष्ट्र मामिला विभाग प्रमुख, छविलाल विश्वकर्मालाई स्थानीय विकास विभाग प्रमुख जिम्मेवारी दिइएको छ।

सचिव लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज र अर्का सचिव पदमा अर्याललाई लुम्बिनी प्रदेशको इन्चार्ज तोकिएको छ।

बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गर्नुका साथै अनुशासन आयोग र सल्लाहकार परिषदमा पनि मनोनयन गरेको एमाले प्रचार विभाग प्रमुख गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज, जनवर्गीय सङ्गठनको इन्चार्ज, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्ज तोकिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *