काठमाण्डौं, १८ साउन–पूर्वमन्त्री एवं डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीमा यसपालि पनि छुटेका छन्।
आज (शुक्रबार) सार्वजनिक ३ सय ४४ सदस्यीय केन्द्रीय सदस्यको सूचीमा आलेको नाम छैन।
गत असार १८ मा सम्पन्न १०औं महाधिवेशनले साविक पोलिट्ब्युरो र प्रदेश अध्यक्षहरू समेटेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो। आलेको नाम त्यहीबेला छुटाइएको थियो।
किन परेनन् त आले ? एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडालाई यो जिज्ञासा राख्दा उनले भने, ‘केन्द्रीय सदस्य बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्छ।’
यसबारे प्रतिक्रिया लिन खोज्दा आलेले फोन उठाएनन्।
असार १६ देखि १८ सम्म चलेको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो। त्यतिखेर महाधिवेशनको हलमा साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो।
अहिले विधानबमोजिमका विभिन्न क्लस्टरहरू मिलाएर केन्द्रीय समितिलाई पूर्णता दिइएको एकीकृत समाजवादीले जनाएको छ।
यो दल नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको हो। २०७८ भदौ ९ गते निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको थियो।
उक्त दल विभाजनका बेला आलेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। माधव नेपाल पक्षधर धेरै नेता(कार्यकर्ता पार्टी विभाजनकै घडीमा पछि हट्दा नेपाललाई आवश्यक संख्या पुऱ्याउन पनि गाह्रो भएको थियो। त्यसबेला आलेसहितको टोली मिसिँदा नेपाललाई राहत भएको थियो।
शुक्रबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समितिको पहिलो बैठकपछि नेता खतिवडाले भने, ‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाइसकेका छौँ। अहिले ३४४ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरिएको छ। अब केही दिनभित्र यी सबै केन्द्रीय सदस्यहरूको शपथ समारोह राखिनेछ। त्यसपछि पदाधिकारीहरू छनोट हुनेछ। धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ।’
