मोरङ, २० साउन–बिद्यार्थी ओसारप्रसारका लागि सञ्चालन गरिएको स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा आज आइतबार बिहान एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा साइकलयात्रीलाई ठक्कर दिदाँ धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ठाकुरलाई बिहान ९-४५ बजेतिर बसले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । ठक्कर दिने बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी बस्नेतले दिए ।
बसको तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
