काठमाडौँ, २० साउन–असारमा १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन भएको झन्डै एक महिनापछि (१८ साउन) मा केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

एक महिना लगाएर केन्द्रीय कमिटीलाई पूर्णता दिए पनि सो पार्टीले २१ पदाधिकारीमध्ये अझै १८ पदाधिकारी चयन गर्न सकेको छैन । केन्द्रीय कमिटीलाई पूर्णता दिनै अलमल गरेको सो पार्टीले पदाधिकारी छनोटको गृहकार्य नै सुरु गरेको छैन ।

केन्द्रीय कमिटीलाई पूर्णता दिए पनि पूर्ण केन्द्रीय कमिटीको बैठक कहिले बस्ने भन्ने निश्चित भैनसकेको नेताहरूको भनाइ छ । ‘अहिले पदाधिकारीबारे कुनै गृहकार्य भएको छैन । सायद भदौ लाग्छ होला,’ नेता सोमप्रसाद पाण्डेले रातोपाटीसँग भने, ‘पदाधिकारीका लागि केही गृहकार्य गर्नुपर्ने हुन्छ त्यो सकेपछि पदाधिकारी छनोट हुन्छ ।’

असार २१ मा सम्पन्न महाधिवेशन हलमार्फत अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत घोषणा गरिए पनि त्यसबाहेकका पदाधिकारीहरूमा उपाध्यक्ष, उपमहासचिव र सचिव छनोट गर्न बाँकी छ । छनोट गर्न बाँकी पदाधिकारीहरूमा १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव छन् ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी सदस्यको शपथपछि पदाधिकारीलाई पूर्णता दिइने बताए । थपिएका केन्द्रीय सदस्यहरूको शपथ कहिले राख्ने भन्ने समय यकिन भैनसकेको भन्दै खतिवडाले भदौअघि त्यो सम्भव नरहेको जनाए ।

एकीकृत समाजवादीले भदौ ९ गते पार्टी स्थापना दिवस मनाउँदैछ । २०७८ साल भदौ ९ एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

‘केन्द्रीय कमिटीले पूर्णता पाएको छ । अब उनीहरूको शपथपछि पदाधिकारीसहित स्थायी र पोलिटब्युरो कमिटीले पनि पूर्णता पाउँछ’, खतिवडाले भने । उनले कम्तीमा १० देखि १५ दिनको समय दिएर शपथका लागि नयाँ केन्द्रीय सदस्यहरूलाई बोलाइने र त्यसपछि केन्द्रीय कमिटी बैठक राखेर पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरोलाई पूर्णता दिने तयारीबारे प्रारम्भिक छलफल भए पनि गृहकार्य अघि बढी नसकेको बताए ।

एकीकृत समाजवादीले भदौ ९ गते पार्टी स्थापना दिवस मनाउँदैछ । २०७८ साल भदौ ९ एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । ‘मेरो विचारमा भदौ ९ सम्म हामी सबै काम सक्छौँ,’ खतिवडाको भनाइ छ ।

नेताहरूका अनुसार पार्टी पदाधिकारी बन्ने आकाङ्क्षी धेरै भएपछि समस्या भएको छ । पुराना र नयाँ दुवैतर्फका केन्द्रीय सदस्यहरू पदाधिकारीमा आकाङ्क्षी देखिएपछि व्यवस्थापन गर्न शीर्ष नेतृत्वलाई समस्या परिरहेको छ ।

‘७ जना सचिवका लागि मात्रै ३५ जना भन्दा बढीको दाबी देखिन्छ’, सो पार्टीका एक पूर्व उपाध्यक्ष भन्छन्,‘सहमतिमा पदाधिकारी छनोट हुन नसके केन्द्रीय सदस्यबिच मतदान गरेर छनोट गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।’

तर अध्यक्ष माधव नेपाल सहमतिमै पदाधिकारी चयन गर्ने प्रयासमा जुटेका छन् । ‘अध्यक्ष सकभर सहमतिमै पदाधिकारी टुङ्ग्याउने प्रयासमा हुनुहुन्छ तर आकाङ्क्षी बढ्दा उहाँलाई समस्या परिरहेको बुझिन्छ,’ ती नेता भन्छन्, ‘ढिला गर्‍यो भने आकाङ्क्षी घट्छन् भन्ने सोच पनि हुनसक्छ ।’

सचिवमा मात्र होइन वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका आकाङ्क्षी पनि धेरै रहेको सो पार्टीका नेताहरूको भनाइ छ । वरिष्ठ उपाध्यक्षका लागि नेताहरू डा। बेदुराम भुसाल र राजेन्द्र पाण्डेबिच प्रतिस्पर्धा रहेको बुझिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *