दमक, १६ भदौ–दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानकारी दिए ।
परीक्षणका लागि पठाईएको १ सय १६ जनाको नमुना स्वाब मध्ये नौ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार १ सयजनाको रिपोर्ट आए पनि १६ जनाको भने होल्ड भएको थियो । मंगलवार विहान फेरि थप ७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने अन्यको रिपोर्ट पोजेटिभ आएको उनले वताए ।
आज थपिएकासंगै दमकमा कुल संक्रमितको संख्या १ सय ६ पुगेको छ । जस मध्ये हिँजोसम्ममा ५२ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् ।
उनका अनुसार दमकमा स्वाब परीक्षण गरिएकाहरुमध्ये अहिलेसम्म ८ देखि १० प्रतिशतमा कोरोना सक्रमण भएको पाईएको छ । संक्रमण देखिएकाहरुमा कहाँबाट संक्रमण भयो भन्ने पत्ता नलाग्दा दमकमा समुदायमै संक्रमण फैलिएको आशंका गरिएको छ ।
नगरपालिकाले संक्रमण नियन्त्रणका लागि निषेधज्ञा गरेको भए पनि त्यसको प्रभावकारिता खासै हुन नसकेको भनेर नागरिक स्तरबाट आलोचना हुदै आएको छ । १२ वजेसम्म पसल खुलेपनि त्यसलाई अटेर गरि व्यापार,व्यवसाय गरिआएको पाईएको छ ।
दमकमा संक्रमण तीव्र रुपमा फैलिदै गएपछि जोखिम थप बढ्न सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न पछिल्ला एक साता भने खुकुलो गरि भदौ २० गतेसम्म निषेधाज्ञा गरिएको छ । निषेधज्ञा भनिएपनि सवारी गुड्नुका साथै मानिसको आउजाउ निर्वाध रुपमा चल्दै आएको पाईएको छ ।
