काठमाण्डौं, २२ साउन–समाजका सबैजसो सत्तामा पुरुषको एकछत्र हालिमुहाली र राज भइरहेका बेला धार्मिक सत्तामा महिलाको आरोहण एउटा महत्त्वपूर्ण खुड्किलो हो।

संस्कृतमा चर्चित भनाइ छ— यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः। भनाइको अर्थ हो, जहाँ नारीको पूरा हुन्छ त्यहाँ देवता खुसी हुन्छन्। देवीदेवताको नाम लिँदा पनि पहिला देवी अनि देवता लिने चलन हो हाम्रो। जस्तो कि सीताराम, राधाकृष्ण, उमाशंकर। शक्ति स्वरूपाका रूपमा दुर्गा, भगवतीको पूजा आराधना हुने भूमि पनि हो हाम्रो। तर यथार्थमा भने नारी अर्थात् महिला शताब्दीऔंदेखि समाजको पिँधमा पारिएको वर्ग भयो।

नेपाली समाजमा महिलाको पूजा होइन, वर्षौं वर्षदेखि थिचोमिचो र विभेद हुँदै आयो। हिंसा भयो। पढ्न, लेख्नबाट पनि वञ्चित गराइयो। पूजा त परै पूजा गर्नसमेत निषेध गराइयो विभिन्न बहानामा। जसै लोकतान्त्रिक जागरण नेपालमा भयो, महिला सशक्तीकरण पनि क्रमशः हुन थालेको छ।

मुलुकको सर्वोच्च पद राष्ट्रपतिदेखि सभामुख, प्रधानन्यायाधीशसम्म नेपाली महिला भइसके। जबकि लोकतन्त्रका जननी र मसिहा ठानिने मुलुक पनि यतिका उपलब्धि हासिल भइसकेको छैन। सँगसँगै धार्मिक सत्तामा पनि महिलाको उपस्थिति उत्साहप्रद देखिएको छ। हालैका दिनमा पशुपतिनाथमा आयोजित कोटिहोम महायज्ञको व्यासासनमा पुरुष होइन महिला कथावाचकको उल्लेख्य उपस्थिति रह्यो।

देवी प्रतिभा, चन्द्रकला सखी, डा। कान्ता भट्टराई, राधिका दासीदेखि ९ वर्षीया अनुराधा पाण्डेसम्मको कथावाचनको कार्यतालिका कोटिहोम महायज्ञमा आयोजक मानवसेवा फाउन्डेसनले मिलाएको छ। सबै नेपाली छोरीहरू हुन्। देवी प्रतिभाले भारतमा लोकप्रियता कमाइसकेकी छन्। चन्द्रकलाले बेलायतमा।

नारीले वेद पाठ गर्नहुन्न। मन्त्रोचारण गर्न हुन्न जस्ता अन्धविश्वास गाँजिएको समाजबाट उठेर उनीहरूले गरेको साधना र प्राप्त उपलब्धि आफैंमा अभूतपूर्व थियो। झन् ती प्रतिभाहरूलाई व्यासासनमा ठाउँ दिएर आयोजकले समग्र महिला वर्गकै सम्मान गरेको छ। महिला सशक्तीकरणका लागि एउटा इँटा थपेको छ।

नेपालको संविधानले नै ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता राज्यका निकायमा गर्ने व्यवस्था गरेको छ। तर खासमा धर्म र विज्ञानले भने नारी र पुरुषलाई बराबर भन्छ। धर्मले बराबर भने पनि व्यवहारमा त्यो थिए। कोटिहोम महायज्ञ आयोजकले व्यवहारमा त्यसलाई उतार्न जुन प्रयास गरे, त्यसबाट समस्त महिला वर्गलाई प्रेरणा मिलेको छ।

समाजका सबैजसो सत्तामा पुरुषको एकछत्र हालिमुहाली र राज भइरहेका बेला धार्मिक सत्तामा महिलाको आरोहण एउटा महत्त्वपूर्ण खुड्किलो हो। समाजमा परिवर्तन र नारीपुरुष बराबरीको हैसियत यसरी नै कायम हुँदै जाने हो। –अन्नपूर्ण

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *