कपिलवस्तु, १७ भदौं–बल्ल बल्ल अडिएको टाटीले बारेको झुपडी। त्यसमा पनि ठाउँठाउँमा भ्वाङ परेको छ। घरभित्रबाट माथि चियाउँदा आकाश देखिन्छ। छेउमा चुल्हो छ। अनि वरपर खाली डिब्बाहरु पल्टिएका छन्। कराइमा घिरौलाको तरकारी पाक्दै छ। पाक्न लागेको आहारा कुर्दै सातदिने सुत्केरी पलङगमा पर्खिएकी छन्। बुद्धभूमि–३ दुवियाका २५ वर्षीया बास्मती थारु खाना खान तरकारी पर्खिँदै छन्। उनको घरमा चामलबाहेक केही छैन। घिरौंलामा झोल हालेर खान थालेका छन्।

पूर्वपश्चिम राजमार्ग बुड्ढी चोकबाट करिब ४ किलोमिटर उत्तर पुगेपछि दुविया गाउँदेखि अलि पर एउटा सानो थारू बस्ती छ। बस्तीमा रहेका अधिकांशको आय स्रोत दैनिक ज्यालादारी मजदुरी हो। बास्मतीका पति निरही इँटा उद्योगका कामदार हुन्। लकडाउनका कारण रोजगारी बन्द हुँदा निरहीजस्ता निम्न आयस्रोत भएका परिवारलाई दैनिकी चलाउन असहज बनेको छ। निरहीले सुत्केरी अवस्थाकी पत्नीलाई पोषणयुक्त खाना खुवाउन सकेका छैनन्। ‘लकडाउनले गरिवलाई सारै दुःख दिएको छ।

आज सन्तानको आगमन हुँदा समेत खुसीले श्रीमतीलाई एक छाक मीठो खुवाउन सकेको छैन। चुनाव जितेर गएका नेताहरु देखिनै छाडे।’ निरही भन्छन्। ५ महिनादेखि बेरोजगार ३६ वर्षीय निरहीको आम्दानीको स्रोत गुमेको ५ महिना भइसक्यो। रोजगारी गुम्दा उनको परिवारलाई हातमुख जोर्नै धौधौ छ। गर्भवती र सुत्केरीको स्वास्थ्य राम्रो हुन पोषणयुक्त खाना र परिवारको स्नेह अत्यावश्यक हुन्छ। तर बास्मती सुत्केरी भएदेखि घिरौला र भात खाइरहेकी छन्। कहिलेकाहीँ त त्यै घिरौला पनि उनको भातमा हुँदैन।

पोषणयुक्त खानेकुरा घरमा छैन, किनेर ल्याउन पनि उनीहरुसँग पैसा छैन, किनकि रोजगारी छैन। चुहिने छानो मुनी बसेर सुत्केरी र नबजात शिसुको स्याहार गर्नु परेको छ। गाउँमा अघिल्लो दिन काम गर्दा ५ सय रुपैयाँ बुझेका थिए निरहीले। त्यही पैसाले उनले चामल किने। प्रसूति गराउन जाँदा छिमेकीसँग उनले १ हजार सापटी मागेका थिए। ‘सुत्केरी अवस्थामा स्याहार सुसार हुनपर्ने हो।

पोषण दिने खाना खाने भन्छन्। नसक्नेलाई हेर्न आउन छाडे। अलि अलि बचत गरेको पैसा घर चलाउँदै सकियो,’ निरही भन्छन्, ‘काम पनि कतै पाइँदैन।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *