दमक, २३ साउन–झापाको दमकमा आज किरात राई यायोक्खा झापाले एक कार्यक्रमको आयोजना गरेर एक जना पत्रकारसहित एसइईमा उर्तिर्ण सामुदायिक तथा निजी बिद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ । दमकस्थित किरात भवनमा आयोजित कार्यक्रममा यायोक्खा झापाद्वारा स्थापित स्व.इन्द्रबहादुर–देउमाया स्मृति पत्रकारिता पुरस्कार २०८० बाट युवा पत्रकार अमित खम्बू सम्मानित भएका छन् ।
यायोक्खाको ३७औं स्थापना दिवसको अवसरमा पत्रकार खम्बुलाई प्रमाणपत्र र नगद रु १० हजार ३७ ले सम्मान गरिएको हो । खम्ब् पूर्वाञ्चल दैनिकमा कार्यरत छन् ।
स्व.इन्द्रबहादुर–देउमाया स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि दिपीन राई, रमेश समदर्शी, अनिदेव राई, भारती राई, धर्मराज राई सम्मानित भइसकेका छन् ।
सोही अवसरबीच झापाका सामुदायिका तथा निजी बिद्यालयबाट एसईईमा उर्तिण गर्नुहुने राई बिद्यार्थीहरु सम्मानित भएका छन् । सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीका लागि स्थापित स्व.डम्बरसिंह–सिद्धीदास स्मृति छात्रवृद्धि पुरस्कारबाट छात्रातर्फ बुद्धआदर्श मावि बुद्धशान्तिकी प्रश्ना राई (३.६६ जीपीए), र छात्रतर्फ आदर्श मावि बद्धशान्तिका रोजन राई (३।१६ जीपीए) लाई पुरस्कृत गरेको छ ।
पुरस्कृत बिद्यार्थीहरुलाई कार्यक्रममा प्रमाण–पत्रसहित नगद रु ७ हजार ३७ रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै, निजी विद्यालयतर्फ स्थापित स्व.विष्णुध्वज–लिलावती राई स्मृति छात्रवृद्धि पुरस्कारबाट छात्रातर्फ समान ३.६१ जीपीए ल्याएका लालिमा अंग्रेजी विद्यालय कमल (केर्खा) की युनिसा राई र पारागन एकाडेमी कनकाई (सुरुङ्गा) की सीतास्मा राईलाई नगद ५ हजार ३७ सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
स्व।.जीतबहादुर राई स्मृति छात्रवृद्धि पुरस्कारबाट छात्रतर्फ फोनिक्स इङलिस बोर्डिङ स्कुल कमलका जेलट राई (३।४७ जीपीए) लाई नगद ५ हजार ३७ सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि तिलकप्रसाद राईसँगै, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुमित्रा वाङ्देल ‘चेली’ कोशी प्रदेशका पुर्व सांसद अर्जुन राई, अक्षयकोषदाता दिलिप राई, यायोक्खा झापाका पूर्व अध्यक्ष इन्द्रमान चाम्लिङ राई, यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, प्रदेश अध्यक्ष पारषमणी राई, अक्षयकोषदाता ललितकुमार राईलगायतको उपस्थिति थियो ।
यायोक्खा झापा अध्यक्ष गणेश राईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा पूर्व सांसद अर्जुन राई, सल्लाहकार दिलीप वान्तावा, विद्यार्थी संघ अध्यक्ष मिलन रुम्दाली राई, प्याव्सन झापा अध्यक्ष गौरीमान फागो र सम्मानितहरुको तर्फबाट पत्रकार अमित खम्बूले आ–आफ्नो मन्तव्य राखेका थिए ।
उपाध्यक्ष लीलाबहादुर राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुसन राईले गरेका थिए ।
