डा.मोहम्मद युनुस

काठमाडौं (एजेन्सी), २३ साउन–बङ्गलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार भएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गरेका छन् ।

लामो समयदेखि शासन गरेकी निरङ्कुश प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेपछि माइक्रो फाइनान्स ९लघुवित्त० का अग्रणी एवं नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको नेतृत्व गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । ‘शान्त रहनुहोस र देश निर्माणका लागि तयार हुनुहोस्’, युनुसले फ्रान्सबाट स्वदेश फर्कनु एक दिनअघि बुधबार एक विज्ञप्तिमा भने, ‘यदि हामी हिंसाको बाटोमा गयौं भने सबै नष्ट हुनेछ ।’

उनले धेरै साताको हिंसापछि शान्त हुन आग्रह गरे । हिंसामा कम्तीमा चार सय ५५ जनाको ज्यान गएको थियो । बङ्गलादेशमा लाखौं मानिसलाई गरिबीबाट बाहिर निकाल्ने श्रेय दिइएका ८४ वर्षीय युनुसलाई विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न बोलाएपछि उनलाई कामचलाउ सरकारको नेतृत्व गर्न नियुक्त गरिएको हो ।

उक्त निर्णय राष्ट्रपति शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेताहरूसँगको बैठकमा लिइएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ । बैठकमा सहभागी स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरूमध्येका एक नाहिद इस्लामका अनुसार युनुसले मुख्य सल्लाहकारको पद प्राप्त गर्नेछन् । इस्लामले बैठकलाई ‘फलदायी’ भन्दै पत्रकारहरूसँग शाहबुद्दिनले ‘जतिसक्दो चाँडो’ अन्तरिम सरकार गठन गरिने कुरामा सहमति जनाएको बताए ।

युनुसका वकिल खाजा तनविर अहमदले बङ्गलादेशको एक अदालतले बुधबार पुनरावेदनमा युनुसलाई श्रम सजायबाट सफाइ दिएको जानकारी दिए । श्रम अभियोगमा छ महिनाको जेल सजाय सुनाइएपछि युनुसले यसै वर्षको प्रारम्भमा विदेश भ्रमण गरेका थिए तर पुनरावेदन विचाराधीन भएकाले तुरुन्तै जमानतमा रिहा गरिएको थियो । उक्त मुद्दालाई एमनेस्टी इन्टरनेसललगायत निगरानीकर्ताहरूले राजनीतिक रूपमा प्रेरितका रूपमा आलोचना गरेका थिए ।

यसैबीच बंगलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले भोलि ९बिहीबार० शपथ ग्रहण गर्ने भएका छन् । बंगलादेशका सेना प्रमुख जनरल वाकर जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषदले भोलि शपथ लिने बताएका छन् ।

बुधबार अपराह्न पत्रकार सम्मेलन गर्दै उनले सम्भवतः भोलि बेलुकी ८ बजे सपथ ग्रहण हुने बताएको बंगलादेशको अखबार द डेली स्टारले लेखेको छ । उनले सल्लाहकार परिषद् सम्भवतः १५ सदस्यीय हुने बताएका छन् । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बंगलादेशको परिस्थिति सामान्य हुने पनि बताएका छन् । यो अवधिमा अपराधमा संलग्नहरुलाई नछाडिने र कारबाही हुने समेत उनले बताएका छन् ।

उनले आफूसँगै वायु र जल सेनाका प्रमुखले पनि काम गरिरहेको बताएका छन् । उनले प्रोफेसर युनुससँग पनि कुरा गरेको बताएका छन् । ‘उहाँसँग कुरा गरेर मलाई एकदमै खुशी लाग्यो, मलाई यस्तो लाग्यो कि उहाँ यो काम गर्नलाई एकदमै इच्छुक हुनुहुन्छ’, उनले भनेका छन्, ‘मलाई लाग्छ, हामीलाई लोकतान्त्रिक प्रक्रियामा लैजान उहाँ सफल हुनु हुने छ र सबैलाई त्यसबाट फाइदा पुग्नेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *