विराटनगर, १७ भदौं–कोरोना संक्रमणको थप जोखिम हुन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो बनाएसँगै विराटनगरमा चहलपहल बढेको छ। स्थानीय प्रशासनले मोरङसहित प्रदेश १ को राजधानी समेत रहेको विराटनगरमा ६ दिनदेखि जारी निषेधाज्ञा बुधबारदेखि खुकुलो बनाएको हो। निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ।
बुधबार बिहानैबाट आर्थिक नगरी विराटनगरमा बजार, पसल खुलेका छन्। मुख्य बजार क्षेत्रमा किनमेल गर्नेको संख्या लागेको छ। मुख्य सडक क्षेत्र भने अहिले पनि सुनसान छ। पातलो मात्रामा सडकमा सावारी साधान गुडेका छन्। विराटनगर महानगरपालिकाले कोरोना महामारी तीव्र फैलिएपछि गत १६ गतेबाट विराटनगरमा लकडाउन घोषणा गरेको थियो।
स्थानीय प्रशासनले भने भदौ १० देखि मोरङ जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। त्यसलाई थप ६ दिन बढाइएको छ। तर, केही खुकुलो बनाएको छ। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिउँसो ४ बजेसम्म बजार, पसल खोल्न पाइने नियम लागू गरेको छ। यसअघि दिउँसो १२ बजेसम्म मात्रै बजार खुल्दै आएको थियो। त्यसैगरी जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन, यातायात साधनहरु सञ्चालन गर्न अनुमति दिएको छ।
सवारी साधन चलाउँदा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने नियमलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। तर, उक्त अवधिमा सार्वजनिक साधन भने सञ्चालन नहुने आदेशमा उल्लेख गरिएको छ। रिक्सा, सिटी सफारी पनि जोर बिजोर गरेरै सञ्चालन गर्नुपर्ने र बढीमा दुईजना यात्रु राख्नुपर्ने नियम जारी गरेकोे छ।
संक्रमण समुदायस्तरमा फैलिएको विराटनगरमा संक्रमितको संख्या एक हजार ३० पुगेको छ भने १३ जनाको मृत्यु भइसकेको छ।
