काठमाडौं, १ भदौं–मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’ को ७७औं संस्करणमा पुरस्कार ९अवार्ड० जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गरेकी अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ पुरस्कार जितेकी हुन् ।
अभिनेत्री ल्हामोले ‘उत्कृष्ट अभिनय प्रस्तुति’ विधामा जितेको पुरस्कारले नेपालका प्रतिभाशाली र उदीयमान कलाकारलाई प्रेरणा प्रदान गर्ने निर्देशक भामले बताए । उनले भने, ‘यस महोत्सवको महत्वपूर्ण पुरस्कारमध्येको एक नेपाली कलाकारले पाउनुले विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिन्छ ।’ उनले यो सफलता नेपालका चलचित्रकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल तथा ऊर्जाशील महिला र विश्व समुदायप्रति समर्पण गर्न चाहेको बताइन् ।
नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेत्री ल्हामोसँगै सोनम तोप्द्न, तेञ्जिङ डल्हाल, कार्म शाक्यलगायत कलाकारले अभिनय गरेका छन् । उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमानले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथालाई निर्देशक भामले लेखक अविनाश विक्रम शाहसँग मिलेर लेखेका हुन् ।
यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको छ । डोल्पाको चार हजार दुई सयदेखि छ हजारसम्मको उचाइमा छायाङ्कन गरिएको उक्त चलचित्रले गत साउन २३ देखि आजसम्म चल्ने महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रको ‘पियाजा ग्राण्डे’ विधामा प्रतिष्पर्धा गरिरहेको छ ।
