अनिलदेब राई दमक, १७ भदौं–२०७६ साल चैत ११ गतेदेखी सुरु लकडाउनसँगै झापा दमक-९ इटाभिट्टास्थित सरस्वती माध्यमिक बिद्यालयका नेत्रह्रिन बिद्यार्थीहरुलाई दैनिक जीवन यापनमा समस्या भएको छ । त्यहाँ अध्ययनरत १३ जना नेत्रह्रिन बिद्यार्थीहरुले साँझ बिहान हातमुख जोड्ने समस्यासँगै कोठा भाडा वापतको शुल्क व्यस्थापन गर्नसमेत समस्या भएको उनीहरु बताउँछन् । प्रत्येक महिनाको घर कोठा भाडा वापतको शुल्क बुझाउन नसक्नेले तत्काल घर कोठा छोड्न लगायतका धम्कीपूर्ण गालीग्लौजहरु गर्ने गरेको उनीहरु बताउँछन् ।
सरस्वती माध्यमिक बिद्यालयमा अध्ययनरत १३ जना नेत्रहिन बिद्यार्थीहरुद्धारा खानपिनसहित कोठा भाडा वापतको शुल्क बुझाउन समस्या भएको भन्दै स्थानीय सरकार र अन्य सरोकारवाला निकायसँग अपिल गरेका छन् । उनीहरुले नेत्रहिन बिद्यार्थीहरुप्रति जिम्मेवार रुपमा प्रस्तुत हुन र हाल देखिएको आफ्नो समस्यामा सहयोग जुटाइदिन समेत आग्रह गरेका छन् ।
तेह्रथुमका सुवास लिम्बू दमक-५ मा कोठा भाडा लिएर बसोबास गरिरहेका छन् । उनी ५ वर्षअअि सरस्वती माध्यमिक बिद्यालयमा आएका हुन् । हाल, उनी कक्षा-१२ मा अध्ययनरत छन् । नौ महिनाको छोरासहित श्रीमति रोबिता खातुनसँग दमक–५ मा कोठाभाडा लिएर बसोबास गरिरहेका छन् । सुवासका श्रीमति रोबिता पनि नेत्रह्रिन हुन् । उनी पनि सोही बिद्यालयका अध्ययनरत हुन् ।
सुवासले आफ्नो पढाईको भन्दा पनि नौ महिने छोरा र श्रीमतिको लागि खानपिनको व्यवस्था कसरी जुटाउनेतर्फ चिन्ता छ । ४-५ महिनादेखी यता घर भाडा वापतको एकमुष्ठ शुल्क घर धनिलाई बुझाउन नसकेकोमा सुवासलाई ठूलो चिन्ता छ । अझै बढी त घर धनीले दिनहु जसो पैसाको कारण कचकच गरिरहदा तवान झेलिरहनु परेको सुवास बताउँछन् ।
हाम्रोसरोकारसँग कुरा गर्दै सुवासले भने–’यस्तो माहामारीको समय छ, कोठा छोडर कहाँ जानु घर कोठा छोडेर । आफु मात्रै भए, केही प्रयास हुन्थ्यो तर तीन जनासहितको परिवार छ । कसरी खाना जुटाउनु अनि कसरी कोठा भाडा बुझाउनु ।’
सुवास जस्तैं राकेश राईको पनि समस्या मिल्दोजुल्दो नै छ । राकेशको पनि श्रीमति र एक जना नानी छ । उनको श्रीमति पनि नेत्रह्रिन हुन् । भारत दार्जिलिङबाट ४ वर्षअघि दमकस्थित सरस्वति माध्यमिक बिद्यालयका अध्ययन गर्न आइपुगेका राकेश अहिले तीन जना परिवारसहित दमक-५ मा कोठा भाडा लिएर बसिरहेका छन् ।
कमल गाउँपालिाका वडा नं-२ का उज्वल घिमिरे पनि सरस्वति माविमा अध्ययनरत हुन् । उनी पनि दमक-५ मा कोठा भाडा लिएर बसिरहेका छन् । उनी, मेची नगरपालिकाका वडा नं ६ का चन्द्र मगरसँग संयुक्त रुपमा घर भाडमा बसोबास गर्छन् ।
त्यस्तैं, सङ्खुवासभाका पूर्णकुमार राई र अमरदिप राई सरस्वति माध्यमिक बिद्यालयमा १२ वर्षदेखी अध्ययन गर्दै आइरहेका छन् । उनीहरु कक्षा-१० सम्म बिद्यालयले उपलब्ध गराएको आवास कक्षमा बसोबास गरिरहेका थिए । तर, कक्षा-११ र १२ मा अध्ययन गर्ने क्रममा बिद्यालयले आवास कक्ष उपलब्ध गराउन नसक्ने भएपछि दमक–९ मा घर भाडमा बसोबास गरिरहेका छन् । उनीहरु संयुक्त रुपमा घर भाडामा बसिरहेका छन् ।
यता, तनहु जिल्लाकी सारादा सुबेदी पनि दमक-५ मा नै घर भाडामा बसिरहेका छन् । उनी जस्तैं, धनकुटाका रामबहादुर राई र धनकुटाकी प्रवित्रा राई पनि दमक-५ मा घर कोठा भाडा लिएर बसोबास गरिरहेका छन् । उनीहरुको समस्या पनि दैनिक खानपिनको समस्यासँगै घर कोठा भाडा वापतको शुल्क बुझाउनै समस्या छ ।
धनकुटाकै निके राई, दार्जिलिङकी गंगा भुजेल लगायतको समस्या उस्तै छ । उनीहरु अध्ययनको शिलशिलामा दमकस्थित सरस्वती माध्यमिक बिद्यालयमा आएका हुन तर अध्ययन पुरा गर्ने शिलशिलामा माहामारी सुरु भयो । ‘माहामारीको यो त्राशले सुरु गरिएको लकडाउनले न त अध्ययन नै पुरा गर्न सक्ने भइयो न त घर नै जान सक्ने अवस्था छ’, भुजेलले हाम्रोसरोकारलाई भनिन् ।

