शङ्कर पोखरेल

काठमाडौं, ४ भदौ–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई प्रजातन्त्रभित्र समाजवाद खोज्ने नेताका रूपमा स्मरण गरेका छन् । गिरीको स्मृतिमा मंगलबार काठमाडौँमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रम महासचिव पोखरेलले मदन भण्डारीले समाजवादभित्र समाजवाद र गिरिले प्रजातन्त्रभित्र समाजवाद खोजेको बताए ।

उनले कुनै बेला माओवादीमा राजासँग मिल्ने कि दलसँग मिल्ने भन्नेमा बाबुराम भट्टराई अल्पमतमा रहँदा नरहरि आचार्य, प्रदीप गिरी र आफूले बाबुरामलाई सहयोग गरेको पनि स्मरण गरे । पोखरेलले राजनीति अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको पनि बताएका छन् ।

उनले नेपाली समाजमा नेपाली नागरिक र राज्य जोडिन नसकेको पनि बताए । ‘जबसम्म नागरिक र राज्य जोडिँदैन । तबसम्म लोकतन्त्र सफल हुन सक्दैन’, पोखरेलले भने । उनले कुनै पनि देश सफल हुन राज्य र नागरिकबिचको सम्बन्ध पनि राम्रो हुन जरुरी रहेको बताए ।

‘नेपाली समाजमा राज्य र नागरिक जोडिन सकेकै छैन’, उनले भने, ‘जसले चर्को स्वर गर्छ उसका पछि जनताहरू झुम्मिने अवस्था छ यसले समाजलाई सही दिशा दिँदैन ।’ महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका कारण राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको बताएका छन् ।

आफूहरूले राष्ट्रिय सहमतिको सरकार गठनको प्रयासस्वरुप कांग्रेससँग सहमति गरेको र सोही अनुसार माओवादीसँग प्रस्ताव गर्दा प्रचण्डले नमानेको पोखरेलले बताए । ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र आदरणीय शेरबहादुर देउवाबीच सहमति भएपछि हामीले त्यसलाई तत्काल बाहिर नल्याउने समझदारी गर्‍यौं । त्यो प्रचण्डजीलाई पनि साथमा लिएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि थियो ।’

पोखरेलले भने, ‘त्यसैका लागि भोलिपल्ट बिहानै केपी ओली प्रचण्डलाई भेट्न बालुवाटार जानु भएको थियो । उहाँले मान्ने अवस्था भएन । त्यसपछि जे सहमति भयो त्यसलाई हामीले संसदमै प्रस्तुत गर्ने समझदारी बन्यो । यदि प्रचण्डजी तयार भएको भए दुई पार्टीको सहमति तीन पार्टीबीचको सहमतिका रुपमा बदलिन्थ्यो । एउटा नयाँ यात्रा सुरु हुन्थ्यो ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *