काठमाडौँ, ५ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस र एमालेका शीर्षबीच भएको सहमतिले समस्या समाधान नहुने दाबी गर्नुभएको छ।
मंगलबार ‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा अध्यक्ष नेपालले उक्त दाबी गर्नुभएको हो।
कांग्रेस र एमालेका दुई ठूला नेताले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव नभएको अध्यक्ष नेपालको भनाइ थियो। उहाँले संविधान संशोधनका बारेमा छलफल गर्न सकिने बताउनु भयो।
अध्यक्ष नेपालले अगाडि भन्नुभयो, ‘‘तर मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन। त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ। जनता र देशका निम्ति समर्पित भएर रूपान्तरण हुन नसक्नेले अरूलाई रूपान्तरण गर भन्ने कुरा सुहाउँदो हुँदैन।
जबसम्म हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ। हामी त्यो अनुरुप रूपान्तर हुँदैनौँ भने अरूलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौँ।’
