काठमाडौँ, ७ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरु व्याप्त रहेको बताएका छन्।

शुक्रवार काठमाडौँमा तीज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले विकृति र विसंगतिबाट हरेक परिवार र समाज ठूलो समस्यामा परेको उल्लेख गरे।

उनले सामाजिक रुपमा अपहेलित महिला समुदाय यसबाट झनै बढी पीडामा परेको बताए। उनले विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार हुने गरेको बताए।

उनले त्यस्ता विकृति हटाउनुपर्ने बताए। उनले देशमा उत्पादन नबढ्नु, रोजगारी नहुनुले विभिन्न समस्या सिर्जना भइरहेको बताए। उनले देशभित्र रोजगारी नपाएर विदेश जाने परिपाटी अन्त्य गर्न आवश्यक रहेको बताए।

‘अहिले नेपाली समाज र राजनीतिक जगतमा थुप्रै विकृति, विसंगति विद्यमान छन्। त्यसले आर्थिक रुपमा विभिन्न भएकाहरु, सामाजिक अपहेलित भएकाहरु, महिला समुदायहरु झनै ज्यादा पीडा भोगिरहेका छन्‚’ उनले भने, ‘हाम्रो समाजमा पुराना संस्कारले गाँजेकै छ। विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिन्छ।’

उनले चाडपर्वले चिन्ता कम गराउने बताए। उनले समाजको वास्तविकता उजागर गर्ने नाममा मान्छेमा नकारात्मकताको मात्रै सन्देश दिइरहेको बताए। तीजले नेपाली महिलाको अनुहारमा सधैँ उज्यालो छर्न सक्नुपर्ने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *