काठमाडौँ, ९ भदौं–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ। आइतबार, नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मनोनित केन्द्रीय सदस्यको सपथ ग्रहणबाट बैठक सुरु भएको हो।
आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पार्टीको पदाधिकारी चयन, केन्द्रीय संरचनाहरूको निर्माण र विविधलगायत तीनवटा एजेन्डा तय भएका छन्।
एकीकृत समाजवादी पार्टीको गत असारमा कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो।
महाधिवेशन सम्पन्न भएको झण्डै एक महिनापछि मात्रै एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको.संख्या र नामवली सार्वजनिक गरेको थियो ।
पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ। भोली (सोमबार) दिउँसो १ बजे पुनः बस्नेगरी बैठक स्थगित भएको छ।
बैठकको पहिलो दिन आज (आइतबार) पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन मन्तव्य राख्नु भएको थियो।
बैठकमा पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्तव्य राख्नु भएको थियो भने पूर्व उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कविता वाचन गर्नु भएको थियो।
