पाडाजुङ्गी, ३१ भदौं–पाडाजुङ्गीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा उपाध्यक्ष पदतर्फ स्वतन्त्र उम्मेदवारी दिएका कमल–५ निवासी प्रमोदकुमार दाहाललाई नेपाली कांग्रेस कमल गाउँसमितिले कार्वाही गरेको छ ।

कांग्रेस जिल्ला समिति झापाका सदस्य दाहालले पार्टी निर्णय विपरीत लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए ।

पार्टी गाउँ समितिले आज प्रेष विज्ञप्ति प्रकाशित गरेर दाहाललाई लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आजै ३१ भदौं, सोमबार निर्वाचनकै दिन कारवाही गरेको हो । निर्वाचनमा दाहालले स्वतन्त्र उम्मेद्वार रहेको भन्दै उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

सो विज्ञप्तिमा पार्टीले सोधेको स्पष्टीकरण नपठाएको र निर्देशन समेत पालना नगरेकाले उनलाई विधान बमोजिम कारवाही गरिएको उल्लेख गरिएको छ ।

कमल गाउँपालिका–५ मंगलबारे बजार निवासी नेता दाहाल कांग्रेस झापाका आमन्त्रित जिल्ला सदस्य हुन् । उनी कांग्रेसको १४औं जिल्ला अधिवेशन पश्चात मनोनित आमन्त्रित जिल्ला सदस्य हुन् ।

पार्टीका कमल सभापति खगेन भण्डारी र सचिव महेन्द्र बुढाथोकीले हस्ताक्षर गरेर जारी गरेको प्रेस विज्ञप्तीमा दाहाललाई पार्टी सदस्यता समेत नरहने गरि अनुशासनको कारवाही गरिएको उल्लेख छ ।

खानेपानी निर्वाचनमा कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन छ । सो टिमबाट खानेपानीकोे अध्यक्ष पदमा राजकुमार न्यौपाने (राजु) र उपाध्यक्षमा दिनेश अधिकारीलाई उम्मेदवार बनाएको थियो ।

पार्टीको आन्तरिक कारवाहीमा परेका दाहाल यसअघि दुई कार्यकाल लखनपुर खानेपानीमा दलीय कोटाबाटनै प्रतिनिधित्व गरिसकेका नेता हुन् । उनी २०७४ को स्थानीय चुनावमा पनि कांग्रेसको तर्फबाट कमल–६ मा वडाध्यक्षको उम्मेद्वार थिए भने दलहरुबीचको सहमति अनुसार यसअघि पार्टी कोटामानै स्थानीय मंगलमय माविको अध्यक्ष समेत भएका थिए ।

१४औं अधिवेशनमा पार्टीको गाउँ सभापतिमा उम्मेद्वारी दिएर पराजित भएका दाहाललाई पार्टीको जिल्ला नेतृत्वले आमन्त्रित जिल्ला सदस्यको रुपमा मनोनित गरेको थियो ।

यसअघि नेकपा एमालेले लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा पार्टी निर्णय र हित विपरित उम्मेद्वारी दिएको भन्दै अध्यक्षकी उम्मेद्वार उषा सिटौला भण्डारीलाई आन्तरिक कारवाही गरेको थियो ।

एमालेले अध्यक्षका लागि पूर्व वडाध्यक्ष समेत रहेका डम्बरबहादुर निरौलालाई अघि सारेर चुनावको सामना गरिरहेको छ ।

यसपटकको चुनावमा मुख्य दल कांग्रेस–एमाले दुवैले अलग अलग प्यानल खडा गरेर नयाँ अनुहारलाई नेतृत्वका लागि अघि सारेका छन् । ति दुवै प्यानलको बिकल्पका रुपमा अध्यक्षमा उषा भण्डारी र उपाध्यक्षमा प्रमोद दाहालले उम्मेद्वारी दिएका थिए ।

अध्यक्षमा न्यौपाने, भण्डारी र निरौलाका अतिरिक्त कृष्ण भण्डारी र खेमराज गुरागाईँ उम्मेद्वारका रुपमा छन ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *