दमक, १९ भदौ–झापाको दमकमा कोरोना संक्रमण फैलिएको भन्दै गत साउन ३१ गते रातिदेखि जारी गरिएको निषेधाज्ञा २१ गतेबाट खुकुलो बन्ने भएको छ । नगरपालिकामा आज भएको सर्वपक्षिय छलफलमा अब बजार तथा बित्तीय संस्था बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म खुला गर्ने निर्णय भएको दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईंले जानकारी दिए ।
यसभन्दा अघि तेश्रो पटक निषेधाज्ञा थप्दा बिहान ७ बजेदेखि दिउसो १२ बजेसम्म बजार खुला गर्ने निर्णय भएको थियो । अब खुकुलो बनाउँदै अपरान्ह ४ बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरिएको उनले बताए ।
बजार खुले पनि शिक्षणसंस्था, होटल, व्यूटीपार्लर, सैलुन, जिम खाना, सेनिमा घर, मनोरञ्जनका पार्क, पार्टी प्यालेस जस्ता भिडभाड हुने क्षेत्र भने वन्दनै हुने छन् । खुलिएका पसल सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने निर्णय भएको छ ।
बजार खुल्ने भए पनि कोरोना संक्रमणको जोखिम कम नभएकाले भौतिक दुरी कायमै राखी व्यवसाय सञ्चालन गर्न दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले ब्यवसायीहरुलाई आग्रह गरे ।
हालसम्म २४४४ जनाको पिसिआर परीक्षण
आज मात्र दमकमा ५ जनामा संक्रमण देखिएको छ । यससंगै दमकमा संक्रमितको संख्या १११ पुगेको छ । ती मध्ये ७० जना उपचार पछि निको भएर घर फर्किएका छन् । त्यस्तै, संक्रमणबाट दमक वडा नम्बर १ का ५८ बर्षिय एक पुरुषको काठमाण्डौमा उपचारका क्रममा ज्यान गएको छ । नगरपालिकाका अनुसार हालसम्म १७ सय पुरुष र ७४४ महिला गरि २४४४ जनाको पिसिआर परीक्षण गरिएको छ ।
गत भदौ १६ गते संक्रमितहरुको सम्पर्कमा आएकाहरुको १४८ जनाको पिसिआर परीक्षण गरिएको र ती मध्ये १४४ जनाको रिपोर्ट आएकोमा ५ जनामा भने संक्रमण देखिएको छ । अव ४ जनाको भने रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, १९ गते परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको १०८ जनाको रिपोर्ट पनि आउन बाँकी रहेको छ । त्यस्तै, १४ जना क्वारेन्टाइनमा र ४१ जना विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।
