दमक, १३ असोज–बाढीपहिरोमा परेर कोशी प्रदेशमा आइतबारसम्म १४ जनाको मृत्यु भएको छ। १३ जना पहिरोमा पुरिएको र एक जनालाई खोलाले बगाएको हो। पाँथचरमा ५, झापामा २ र मोरङमा १ गरी ८ जना बेपत्ता छन्। पाँचथरमा ५, धनकुटा र खोटाङमा २(२ तथा ओखलढुंगा, तेह्रथुम, संखुवासभा र सोलुखुम्बुका १(१ जना छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पाँचथर सोलुखुम्बुमा सबैभन्दा बढी ५र५ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ। धनकुटामा २ जनाका मृत्यु भएको छ। इलाम र उदयपुरका १र१ जनाको मृत्यु भएको छ। फिदिम–१२ घर भएकी फिदिम–४ मा बस्दै आएकी २४ वर्षीया सपना शेर्पा र उनकी ६ वर्षीया छोरा डोल्मा शेर्पाको पहिरोमा पुरिएर मृत्यु भएको छ। उनीहरु फिदिम नगरपालिका–४ चिसापानीस्थित फुर्लु शेर्पाको घरमा पाहुना आएका थिए।
त्यसैगरी फिदिम–८ भोटेगाउँका ८२ वर्षका पशेम्बा शेर्पा, फिदिम–२ मजिटेकी ३८ वर्षकी रञ्जना राई र फिदिम–१ दुमाका ५० वर्षका गोपी विश्वकर्माको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। विश्वकर्मा फुरुङ्गा हाईड्रो पावरमा कार्यरत थिए।
पहिरोले घर बगाउँदा हाइड्रोपावरकै कर्मचारी फिदिम–१ का ५१ वर्षीय कृष्ण दास र उनकी श्रीमती ४२ वर्षीया कमला दास, फिदिम–१ का ५५ वर्षीय धनकुमार तुम्बापो, फालेलुङ गाउँपालिका–४ की २१ बर्षिया सरस्वती तुम्बापो बेपत्ता छन्। पाँचथरमै तारे खोलाले बगाउँदा फालेलुङ–५ की ३६ वर्षीया कमला राई पनि बेपत्ता छिन्। पाँचथरको फालेलुङ, मिक्लाजुङ, फिदिम, याङवरक र फाल्गुनन्दमा सयौं घरमा क्षति भएको छ।
त्यस्तै, धनकुटाको पाख्रीबास नगरपालिका–५ मा घरमा पहिरो झर्दा किचिएर ३२ वर्षीया आशा तामाङ र ५० वर्षीया रामकुमारी तामाङको घटनास्थलमै मृत्यु भएको हो। सोही घरमा रहेकी छिमेकी २४ वर्षीया मीनमाया तामाङ घाइते छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
धनकुटाकै छथरजोरपाटी गाउँपालिका–२ मा पहिरो खस्दा २० वर्षकी सृजना बाजिम्पाक घाइते भएकी छन्। त्यस्तै, सोलुखुम्बुमा पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको चैलुङमा घर पहिरोले पुर्दा ३३ वर्षीय बर्षिय कविता मगर र २४ वर्षीय रुपु मगरको मृत्यु भएको छ। त्यसैगरी सोलुदुधकुण्ड–२ की २३ बर्षिय ल्हामु शेर्पा तथा सोलुदुधकुण्ड नगरपालिका–९ की २३ वर्षीय ल्हामु शेर्पा र २९ वर्षीय रिना तामाङको मृत्यु भएको हो।
उदयपुरको रौतामाई गाउँपालिका–१ की १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ। इलामको राते खोलाले बगाउँदा माई नगरपालिका–८ का ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको छ। बाढीमा परेर झापामा २ जना र मोरङमा १ जना बेपत्ता भएका छन्।
झापाको कमल गाउँपालिका–१ का ३५ बर्षिय टिकाराम चौधरी र कचनकवल गाउँपालिका–१ की १४ बर्षिया नेहारिका राजवंशीको खोलाले बगाएर बेपत्ता भएका छन्। मोरङका रतुवामाई नगरपालिका–७ की ७२ वर्षीया डुरादेवी राजवंशी खोलाले बगाएर बेपत्ता छिन्।
